रोल्पाको सुनछहरी पहिरोमा बेपत्ता तीन जनाको शव फेला परेको छ भने एक जना अझै बेपत्ता छन्।
अविरल वर्षापछि बिहीबार राति घरमाथिबाट खसेको पहिरोका कारण सुनछहरी गाउँपालिका–२ फनबाङका ६७ वर्षीय वीरबहादुर घर्ती मगर, उनकी ६० वर्षीया श्रीमती शनी घर्ती मगर र छिमेकी ७० वर्षीया लली घर्ती मगरको शव फेला परेको प्रहरीले जनाएको छ।
रोल्पा प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले बेपत्ता एक जनाको खोजी भइरहेको बताए। स्थानीय लादे बुढा मगरको घर पनि पहिरोले पुरिएको छ। उनको खोजी कार्य जारी रहेको डीएसपी बाखुले जानकारी दिए।
राति पहिरोले घर पुरेको खबर प्रहरीले बिहान मात्रै पाएको थियो। जिल्लाकै थवाङ–५ कोटबारामा बुधबार राति गएको पहिरोका कारण १० जनाको मृत्यु भएको थियो। उक्त पहिरोमा परेका थप तीन जना अझै फेला परेका छैनन्। प्रहरीले उनीहरूको खोजी कार्य पनि जारी राखेको जनाएको छ।
प्रकाशित: २९ श्रावण २०८३ १४:३० शुक्रबार


-600x400.jpg)


