मोरङको बेलबारी र उर्लाबारी नगरपालिकाको छुट्टाछुट्टै स्थानमा २ जना पुरुषको शव फेला परेको छ ।
उर्लाबारी नगरपालिका–२ का २५ वर्षीय सुशील लिम्बू मंगलबार बिहान धान खेतमा मृत अवस्था भेटिएको मोरङ प्रहरीले जनाएको छ । घरको आँगनसँगै जोडिएको खेतमा घोप्टो परेको अवस्थामा शव फेला परेको थियो । मृतक लिम्बूको दायाँ नाकाबाट रगत बगेको र हातखुट्टा कक्रिएको अवस्थामा शव फेला परेको र मृत्युको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।
शवलाई घटनास्थलबाट पोस्टमार्टमका लागि उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर लगिएको र इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रञ्जन बराल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, बेलबारी नगरपालिका–७ गिरी टोलका ४१ वर्षीय डमरु ऋषिदेवलाई सोमबार साँझ आफ्नै धान खेतमा मृत अवस्था फेला पारेको प्रहरीले जनाएको छ ।
धान खेतमा युरिया मल छर्नका लागि भनेर घरबाट हिँडेका उनको शव खेतमै घोप्टो परेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । ऋषिदेवको पनि मृत्युको कारण खुल्न सकेको छैन ।
शवलाई पोस्टमार्टमका लागि पठाएर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: २० श्रावण २०८२ १६:५३ मंगलबार





-600x400.jpg)