२६ वैशाख २०८३ शनिबार
image/svg+xml
समाज

बोडे अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा

भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ८ बोडेलाई आधारभूत तहको अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा घोषणा गरिएको छ। यसअघि यस्तो घोषणा भक्तपुर र काठमाडौं उपत्यकामा गरिएको छैन। वडा समितिको निर्णयअनुसार शुक्रबार औपचारिक रूपमा घोषणा गरिएको हो।

अनिवार्य तथा निः शुल्क शिक्षासम्बन्धी ऐन, २०७५ तथा नियमावली, २०७७ अनुसार गरिएको घरधुरी सर्वेक्षणमा १४ वर्षमुनिका सबै बालबालिका विद्यालयको पहुँचमा रहेको पुष्टि भएपछि ‘अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित वडा’ घोषणा गरिएको हो। वडाका सामुदायिक विद्यालयहरूले आधारभूत तहमा भर्ना, मासिक तथा परीक्षा शुल्क नलिएको र शिक्षा सुनिश्चितताका मापदण्ड पूरा भएको उल्लेख गरिएको छ।

घोषणापत्रमा वडा तथा नगरपालिकाले विद्यालय बाहिर रहेका बालबालिकाको पहिचान, अभिभावक सचेतना, नियमित अनुगमन तथा वैकल्पिक शिक्षाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ। साथै सामुदायिक तथा संस्थागत विद्यालयलाई विद्यालय छाड्ने बालबालिकाको अभिलेख राखी पुनः भर्नाका लागि पहल गर्न आग्रह गरिएको छ।

त्यस्तै आर्थिक अवस्था कमजोर, दलित तथा सीमान्तकृत समुदायका विद्यार्थीलाई विशेष छात्रवृत्तिको व्यवस्था गर्नुपर्ने विषय पनि घोषणापत्रमा समेटिएको छ। स्थानीय समुदायलाई विद्यालय उमेर समूहका बालबालिका विद्यालय बाहिर रहेको जानकारी भए सम्बन्धित निकायमा सूचना दिन आग्रह गरिएको छ।

मध्यपुर थिमी नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले वडालाई आधारभूत तहको अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित भएको नगरपालिका क्षेत्रकै पहिलो वडा भएको एक कार्यक्रम गरी शुक्रबार घोषणा गरेका हुन्।

नेपालको संविधानमा आधारभूत तहको शिक्षा निःशुल्क र अनिवार्य पाउने बन्दोबस्त छ। सरकारी योजनाअनुसार नै अहिले यो कार्यान्वयनका क्रममा यसको सुरुवात भएको कार्यक्रममा जानकारी गराइयो।

कार्यक्रममा मध्यपुर थिमी नगरपालिका -८ बोडेका वडाध्यक्ष रमेश थापा श्रेष्ठले वडाभित्रका सम्पूर्ण स्थानीय तथा कोठाभाडामा बस्ने सबैको तथ्यांक संकलन गरी १४ वर्षमुनि, चार वर्षमाथिका कोही पनि बालबालिका विद्यालय बाहिर नभएको पुष्टि भएपछि वडालाई आधारभूत तहको ‘अनिवार्य तथा निःशुल्क शिक्षा सुनिश्चित भएको वडा’ घोषणा गरिएको जानकारी गराए। सोही कार्यक्रममा विद्यालय बाहिर रहेका एकजना बालिकालाई विद्यालय जानका लागि आवश्यक सामान सहयोगस्वरूप हस्तान्तरण गरियो।

अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी ऐन, २०७५, नियमावली, २०७७ तथा कार्यान्वयन कार्यविधि, २०८२ अनुसार सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिको सहभागितामा बसेको वडा समितिको बैठकले उक्त निर्णय गरेको जनाएको छ।

वडाले घरधुरी सर्वेक्षणमार्फत १४ वर्षमुनिका बालबालिकाको अवस्था अध्ययन गरी विद्यालय बाहिर रहेका बालबालिकालाई आवश्यक परामर्शपछि विद्यालय भर्ना गरिएको जनाएको छ। साथै वडाभित्र रहेका दुई सामुदायिक विद्यालयले आधारभूत तहमा भर्ना, मासिक तथा परीक्षा  शुल्क नलिई निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएका छन्।

घोषणासँगै वडाले यस अभियानलाई प्रभावकारी बनाउन विभिन्न प्रतिबद्धता पनि जनाएको छ। त्यसका लागि कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, वडाध्यक्ष रमेश थापा श्रेष्ठलगायतले प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए, जसअनुसार शिक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने, १४ वर्षमुनिका बालबालिकालाई अनिवार्य रूपमा विद्यालय पठाउन अभिभावकलाई प्रेरित गर्ने, विद्यालय छाड्ने बालबालिकाको अभिलेख राखी पुनः भर्नाका लागि पहल गर्ने तथा विपन्न, दलित र सीमान्तकृत समुदायका विद्यार्थीलाई विशेष सहयोग तथा छात्रवृत्ति व्यवस्था गर्ने उल्लेख छ।

त्यसैगरी वडाले विद्यालय बाहिर रहेका बालबालिकाको जानकारी प्राप्त भएमा आवश्यक परामर्श र समन्वयमार्फत विद्यालयमा पुनः भर्ना गराउने तथा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि निरन्तर काम गर्ने प्रतिबद्धता जनाएको छ। वडाले यो अभियान एकदिने कार्यक्रम नभई निरन्तर सञ्चालन हुने स्पष्ट पारेको छ।

प्रकाशित: २६ वैशाख २०८३ १४:०८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App