रक्तदातालाई सम्मान गर्दै नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङले ५० औं स्थापना दिवस मनाएको छ ।
रक्त सञ्चार केन्द्र नभएको ताप्लेजुङमा रगतको आवश्यकता परेको बेला रक्त समूह अनुसारका व्यक्तिलाई रक्तदानका लागि आमन्त्रण गरेर रगतको अभाव टाँरिदैं आएको छ ।
त्यसका लागि नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङसहितका निकायले रक्त समूह अनुसार व्यक्तिको सूची तयार गरेका छन् । अहिले रक्तदानको समस्या टार्न फुङलिङ नगरपालिका- ५ का दिनेश खवाससहितका युवाहरुको अगुवाइमा समूह बनेको छ ।
रगत आवश्यक भएका व्यक्तिका सदस्यले माग गरेअनुसार ती समूहले रक्तदाताको खोजी गरी रगतको समस्या टार्ने गरिएको छ । रक्तदानका लागि ताप्लेजुङका नागरिक, विभिन्न कार्य र जिम्मेवारीमा ताप्लेजुङ आइपुगेका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र बैंक तथा वित्तीय संस्थामा आवद्ध भई कार्यरत कर्मचारी र सरोकारवालालाई आग्रह गर्ने गरिएको छ ।
रक्तदान गरेका व्यक्तिको रक्त समूहसहितको सूचीसमेत तयार भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर प्रनाम जयरुले रगतको आवश्यकता र त्यसको परिपूर्ति जीवनका लागि महत्वपूर्ण सावित हुने बताए ।
उनले रक्तदान गर्ने व्यक्तिले जीवनदान नै गरे सरहको पुण्य प्राप्त गर्ने समेत दावी गरे । कार्यक्रममा पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी तथा रक्तदान कार्यमा सहयोग गर्ने व्यत्तित्व खवासले रक्तदानको महत्व र अहिले ताप्लेजुङमा टारिँदै आएको रगतको अभाव बारे धारणा राखेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतम, फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज), नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका सभापति इन्द्रबहादुर गुरुङ, मन्त्री विकास गौतमसहित पदाधिकारी तथा सदस्य, रक्तदाता, विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीको उपस्थिति थियो ।
स्थापना दिवसको अवसरमा २०७९ सालदेखि प्रमाणपत्र पाउन बाँकी रक्तदाता र सो भन्दा पछिका रक्तदातालाई प्रमाणपत्र प्रदान गरिएको नेपाल रेडक्रस सोसाईटी ताप्लेजुङका उपमन्त्री कमलप्रसाद भट्टराईले जानकारी दिए ।
प्रकाशित: १ आश्विन २०८२ १६:०५ बुधबार





