कास्कीको आकर्षक पर्यटकीय गन्तव्य धम्पुस जाने बाटो कालोपत्रे हुने भएको छ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर–७ स्थित पर्यटकीय गन्तव्य धम्पुसमा गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको ग्रामीण सम्पर्क सुधार परियोजना (आरसीआइपी)को ३० करोड १८ लाख ९४ हजारको लागतमा धम्पुस जाने बाटो कालोपत्रे हुन लागेको हो । मध्यपहाडी लोकमार्गको हेमजा घट्टेखोला–धम्पुस–खानीगाउँ सडकको शुक्रबार गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले शिलान्यास गरे ।

सो सडक खण्डमा कुल १३.३ किलोमिटर सडक कालोपत्रे हुने गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको ग्रामीण सम्पर्क सुधार परियोजना (आरसीआइपी)का प्रमुख लक्ष्मीप्रसाद भण्डारीले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा घट्टेखोलादेखि धम्पुससम्मको ७ किलोमिटर क्षेत्रमा अस्फाल्ट प्रविधिबाट पिच गरिनेछ । जहाँको सडकमा साढे पाँचदेखि ६ मिटरको बिचमा पिच हुने आयोजना प्रमुख भण्डारीले बताए । त्यसबाहेक धम्पुस–खानी गाउँसम्मको ६.३ किलोमिटर क्षेत्रमा भने डिबिएसटी प्रविधिको पिच हुनेछ भने सडकको दुबैतर्फ नाला राखिने उनले जानकारी दिए ।
आयोजनाको कुल लागत ५१ करोड ९८ लाख अनुमान गरिएको थियो तर टेण्डरमा जाँदा सडक निर्माण कम्पनीले ४० प्रतिशत घटेर ३० करोड १८ लाख ९४ हजारमा निर्माणको ठेक्का लिएको आयोजना प्रमुख भण्डारीले जानकारी दिए । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी गत २०८१ साल फागुन २१ गते निर्माण कम्पनीसँग सम्झौता भएको उनले बताए ।
सडक शिलान्यास कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री केसीले तोकिएकै समयमा सडक निर्माण गर्न निर्माण कम्पनीलाई निर्देशन दिए । सडक निर्माण गर्दा गुणस्तरमा ध्यान दिन आग्रह गर्दै उनले भने,‘दुई वर्ष भनेर समय थप्ने, लापरवाही गर्ने कार्य नगर्न गम्भीर सचेत हुनूस् । अनि स्थानियले पनि सडक तपाईंहरुकै हो । समयमै सम्पन्न गर्न सहयोग गर्नुहोला ।’
माछापुच्छ«े गाउँपालिकाका प्रमुख मीनबहादुर गुरुङ र उपप्रमुख सीता अधिकारीले सडक निर्माणमा गाउँपालिकाको पूर्ण रुपमा सहयोग रहने प्रतिबद्दता जनाए ।
२०६१ सालमा ट्रयाक खोलिएको घट्टेखोला–धम्पुस सडकमा २०७० सालमै स्थानीयले आर्थिक सहयोग संकलन गरेर निर्माणको प्रयास गरेका थिए । तर डिपीआर गर्दा अनुमानित लागतभन्दा दोब्बर भन्दा बढी रकम लाग्ने भएपछि सो योजना अलपत्र परेको थियो । पछि रामजीप्रसाद बराल प्रदेशको अर्थमन्त्री भएका बेला यो सडक निर्माण योजनाले गति पाएको थियो ।
सडक निर्माण सम्पन्न भएमा धम्पुस र आसपासका करीब १० वटा गाउँ तथा टोल लाभान्वित हुने स्थानीय समाजसेवी डिल्लीराम भण्डारीले जानकारी दिए । धम्पुस पर्यटकीय गाउँमात्र नभएर विश्व प्रख्यात मर्दी हिमाल र अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार पनि हो । गुरुङ वस्ती र गुरुङ संस्कृति रहेको यस गाउँबाट प्राकृतिक छटासँगै अन्नपूर्ण हिमश्रृंखला, माछापुच्छ्रेलगायतका हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ ।
प्रकाशित: ९ श्रावण २०८२ १६:४२ शुक्रबार



-600x400.jpg)

