१३ भाद्र २०८३ शनिबार
image/svg+xml
समाज

वीरगन्ज महानगरपालिकाको एक करोड ११ लाख सहयोग

वीरगञ्ज । फाइल तस्बिर

मधेश प्रदेशको एक मात्र महानगरपालिका वीरगन्ज महानगरपालिकाले रसुवाको भोटेकोशी खोलामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक करोड ११ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने जनाएको छ।

भदौ १० गते आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको दुःखको घडीमा वीरगन्ज महानगरपालिकाले सहयोग गर्ने जनाएको हो।

वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा शनिबार बसेको कार्यपालिका बैठकले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

सहयोग गर्ने रकम जुटाउन महानगरपालिकाका नगर सभा सदस्यहरूको एक महिनाको सेवा–सुविधा तथा ३२ वटा वडा कार्यालयबाट एक लाख २५ हजार रुपैयाँका दरले रकम कट्टा गरी राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ।

त्यसैगरी, महानगरपालिकामा कार्यरत सम्पूर्ण कर्मचारीको तलबबाट मुख्य सचिवस्तरीय निर्णयअनुसार तोकिएको रकम कट्टा गरी सहयोग रकममा समावेश गरिने जनाइएको छ।

यसरी आन्तरिक रूपमा संकलन गरिने रकम एक करोड ११ लाख रुपैयाँ नपुगेमा प्रकोप व्यवस्थापन कोषबाट अपुग रकम पूर्ति गरिने वीरगन्ज महानगरपालिकाका प्रशासन तथा व्यवस्थापन महाशाखा प्रमुख कीर्तिराज सुवेदीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

वीरगन्ज महानगरपालिका क्षेत्रका कुनै पनि नागरिक उक्त बाढी प्रभावित क्षेत्रमा फसेको वा उद्धारको प्रतीक्षामा रहेको जानकारी प्राप्त भएमा ती नागरिकको तत्काल खोज, उद्धार तथा स्थानान्तरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहसँग समन्वय गरी उद्धारको व्यवस्था मिलाउने विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: १३ भाद्र २०८३ २१:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App