पदयात्रा पथप्रदर्शकलाई तीनदिने चरा पहिचानको तालिम दिइएको छ। नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय र पोखरा पंछी समाजको संयुक्त आयोजनामा तालिम दिइएको हो।
विभिन्न रुटको पदयात्रामा जाने पर्यटकलाई पदमार्गमा पाइने विभिन्न प्रजातीका चराबारे जानकारी गराउन सहज होस् भन्ने उद्देश्यले ३६ जना पथप्रदर्शकलाई तालिम दिइएको पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले जानकारी दिए। ती पदप्रदर्शकहरुले अन्नपूर्ण क्षेत्रका विभिन्न रुटमा पर्यटकलाई पदयात्रा गराउँदै आएका थिए।
तालिमका सहभागीलाई नेपाल पंछीविद् संघका अध्यक्ष हठनराम महतो, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख रविन कडरिया, काठमाडौं इन्भाइरोन्मेन्टल एजुकेशन प्रोजेक्ट (किप)का कार्यकारी सदस्य गोपि श्रेष्ठका साथै पंछीविद्ले चरा अवलोकनका विभिन्न पक्षबारे सैद्धान्तिक र स्थलगत रुपमा नै प्रयोगात्मक तालिम दिलाएका थिए।
‘पदयात्राका क्रममा विभिन्न रुटमा जाने क्रममा चरा देखिन्छन। तर, चराबारे जानकार नहुँदा पर्यटकलाई सही जानकारी दिलाउन सकिएको थिएन। यो प्रशिक्षणले कम्तिमा चराको प्रजातीबारे जानकारी दिलाउन सकिनेछ,’ बोर्डका गण्डकी प्रमुख मणिराज लामिछानेले भने, ‘चराप्रेमी पर्यटक पनि पर्याप्त आउँछन। उनीहरुलाई सही जानकारी दिन नसक्दा समस्या थियो। त्यो समस्या केही कम हुनेछ।’ प्रकृतिसँग रमाउँदै चरा हेर्नकै लागि भनेर पनि नेपालमा पर्यटक आउने गरेको उनले बताए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनका विभिन्न विधामध्ये चरा पर्यटन पनि महत्वपूर्ण पक्ष भएको बताए। ‘पोखराभित्र तालतलैया भएकोले पनि चराहरु पर्याप्त आउँछन। ती चराले पाहुना आकर्षण गरेका छन। त्यसबाहेक पदमार्गमा पनि विभिन्न प्रजातीका चरा पाइन्छन,’ उनले भने, ‘ती चराबारे वास्तविक जानकारी दिलाउन नसक्दा समस्या थियो। चरा चिनेर सही जानकारी दिन सकियो भने पर्यटक पनि खुसी हुनेछन।’ नेपाल पंछीविद् समाजका अध्यक्ष हठनराम महतोले चरा पर्यटनमा काम गर्न चाहनेले त्यस सम्बन्धी विज्ञता हासिल गर्न प्रविधिको प्रयोगका साथै यसतर्फको गहिरो लगाव हुनुपर्ने बताए।
प्रकाशित: २१ पुस २०८२ १८:१० सोमबार





