मोरङका दुई स्थानीय तहमा बर्ड फ्लू (एच-फाइभ-एन-वन) पुष्टि भएको छ।
सुनवर्षी नगरपालिका-४ र उर्लाबारी नगरपालिका-५ मा संकलित कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा अत्यन्त सङ्क्रामक एभियन इन्फ्लुएन्जा पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको पशु सेवा विभागले जनाएको छ।
विभागका अनुसार रोग पुष्टि भएसँगै ‘पशु रोग नियन्त्रण नियमावली, २०७६’ बमोजिम प्रभावित क्षेत्रलाई सङ्क्रमित क्षेत्र घोषणा गरी नियन्त्रणका आपत्कालीन उपाय लागू गरिएको छ। सोहीअनुसार कुखुरा तथा कुखुराजन्य पदार्थको ओसारपसारमा रोक, नष्ट तथा सुरक्षाका कडा प्रबन्ध लगाइएकाे छ। रोग अन्यत्र नफैलियोस् भन्ने उद्देश्यले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गरी निगरानी तीव्र पारिएको छ।
विभागले कुखुरा फार्म तथा आसपासका क्षेत्रका लागि ११ बुँदे निर्देशन जारी गर्दै अनावश्यक आवागमन नियन्त्रण, फार्म प्रवेशअघि अनिवार्य निसंक्रमण, सुरक्षात्मक पोशाक (बुट, एप्रोन) प्रयोग, दैनिक सरसफाइ तथा बाह्य जनावरको प्रवेश निषेध गर्न आग्रह गरेको छ। एक फार्मका कामदारलाई अर्को फार्ममा जान नदिने, प्रयोग भएका अण्डा ट्रे तथा सामग्री पुनःप्रयोग नगर्ने, तथा स्प्रे प्रयोग गरी मात्र प्रवेश गर्ने व्यवस्था अनिवार्य गरिएको छ।
यसैगरी, बिरामी वा मरेका कुखुरालाई सुरक्षित तरिकाले गाड्ने, कामदारले व्यक्तिगत सरसफाइमा ध्यान दिने र स्वास्थ्य समस्या देखिए नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न भनिएको छ। कुखुरा तथा कुखुराजन्य उत्पादनको ढुवानी गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिन पनि विभागले भनेकाे छ।
एक्कासी ठूलो संख्यामा कुखुरा बिरामी पर्नु वा मर्नु जस्ता घटना देखिए तुरुन्त नजिकको पशु सेवा निकायलाई जानकारी गराउन विभागले सर्वसाधारण, किसान तथा सरोकारवालासँग अपिल गरेको छ।
प्रकाशित: ९ चैत्र २०८२ १८:४० सोमबार





