नेपाल-चीन सीमा रसुवागढी क्षेत्रमा आएको भोटेकोशी बाढीमा हालसम्म १६५ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार फेला परेका शवको सनाखत हुन बाँकी छ। बाढीमा ८२६ जना सम्पर्कविहीन रहेका छन्।
सम्पर्कविहीनमध्ये नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरी बल नेपालका १३ जना छन्। नेपाल पर्यटन बोर्डको प्रारम्भिक विवरणअनुसार प्रभावित क्षेत्रबाट ४६६ जना विदेशी र ११३ जना नेपाली गरी ५७९ जना पर्यटक बेपत्ता भएका छन्।
बाढीमा ७३ जना घाइते भएका छन्। रसुवामा ४३, नुवाकोटमा २७ र धादिङमा तीन जना घाइते भएको विवरणमा उल्लेख छ। घाइतेको उपचारका लागि नुवाकोट जिल्ला अस्पतालमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका चिकित्सकसहितका टोली खटिएका छन्।
बुधबार बिहान ८ः४० बजे नेपाल-चीन सीमा रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा गएको हिम-चट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहित ठूलो बाढी आएको थियो। तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै आएको बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेसी हुँदै त्रिशूली नदीमा मिसिएको थियो।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो जोखिम सिर्जना भएको छ। टिमुरे, स्याफ्रुबेसी, बेत्रावती, त्रिशूली, बट्टार र देवीघाटलगायत क्षेत्रमा बाढीले ठूलो क्षति पुर्याएको प्राधिकरणले जनाएको छ।
बाढीका कारण ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुंगे पुल र ४० किलोमिटर पक्की सडक क्षतिग्रस्त भएका छन्। विद्युत्, सञ्चार, खानेपानीलगायतका पूर्वाधारमा समेत क्षति पुगेको छ। भौतिक तथा मानवीय क्षतिको विस्तृत विवरण संकलन भइरहेको छ।
खोज तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सात हजार ४१५ जना सुरक्षाकर्मी परिचालन भएका छन्। यसमध्ये नेपाल प्रहरीका तीन हजार ३१८, नेपाली सेनाका दुई हजार ३५५ र सशस्त्र प्रहरी बलका एक हजार ७४२ जना छन्।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म २३९ जनाको हवाई उद्धार गरिएको छ। नेपाली सेनाका हेलिकप्टरमार्फत २११ र निजी क्षेत्रका हेलिकप्टरमार्फत २८ जनाको उद्धार गरिएको प्राधिकरणले जनाएको छ। रसुवाको टिमुरेबाट मात्रै १२३ जनाको हवाई उद्धार गरिएको छ, जसमा ९४ जना नेपाली र २९ जना विदेशी नागरिक छन्।
प्रभावितका लागि नेपाली सेनाको नजिकैका ब्यारेकमा अस्थायी बसोबास, खानेकुरा, सफा खानेपानी र औषधीको व्यवस्था गरिएको छ। खोज, उद्धार र राहत व्यवस्थापनको काम निरन्तर भइरहेको प्राधिकरणले जनाएको छ।
बाढीपछि रसुवा र नुवाकोटमा नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको छ। प्रदेश, जिल्ला तथा स्थानीय तहका उद्धार टोलीलाई उच्च सतर्कतासहित परिचालन गरिएको छ भने सम्बन्धित निकायबिच निरन्तर समन्वय भइरहेको छ।
मन्त्रिपरिषद्ले भोटेकोशी-त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम घोषणा गर्दै रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका नदी किनारका बस्तीलाई सुरक्षित स्थानमा रहन आग्रह गरेको छ। प्रभावित जिल्लाका स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णयसमेत भएको छ।
सरकारले घाइतेको निःशुल्क उपचार, घाइते तथा विस्थापितको उद्धार, घर गुमाएकालाई सुरक्षित स्थानमा सारेर खाने-बस्ने व्यवस्था गर्ने निर्णय गरेको छ। यस्तै, अवरुद्ध सडक, विद्युत्, दूरसञ्चार र खानेपानी सेवा यथाशीघ्र सञ्चालन गर्ने तथा क्षतिग्रस्त सार्वजनिक संरचना र पूर्वाधारको पुनर्निर्माण अघि बढाउने निर्णय भएको छ।
बाढीबाट मृत्यु भएकाका परिवारलाई प्रचलित कानुनअनुसार आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ। अहिलेको मुख्य प्राथमिकता सम्पर्कविहीनको खोजी, घाइतेको उद्धार तथा उपचार, प्रभावितको सुरक्षा, राहत वितरण र क्षतिको विस्तृत विवरण संकलन रहेको प्राधिकरणले जनाएको छ।


प्रकाशित: ११ भाद्र २०८३ १०:२० बिहीबार


-600x400.jpg)


