१५ भाद्र २०८३ सोमबार
image/svg+xml
समाज

भोटेकोशी बाढी : ९०७ शव फेला, चार हजार २४७ जना अझै बेपत्ता

गत बुधबार रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीमा परेका ९०७ जनाको शव फेला परेको छ भने चार हजार २४७ जना अझै सम्पर्कविहीन रहेका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार बिहान ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै यसबारे जानकारी गराएको हो। फेला परेका ९०७ वटा शवमध्ये रसुवामा २४, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, तनहुँमा ३७ र चितवनमा २७२ जना रहेका छन्।

प्राधिकरणका अनुसार बाढीग्रस्त क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल गरी कुल २० हजार ८१९ जना सुरक्षाकर्मी खटाइएका छन्। विभिन्न स्थानबाट जम्मा १० हजार ४५१ जनाको उद्धार गरिएको छ। उद्धार कार्यका लागि नेपाली सेना र निजी गरी १७ वटा हेलिकप्टरमार्फत ४११ वटा हवाई उडान गरिएको छ। साथै, बाढीमा परेका ३ हजार ३३४ नेपालीसहित २२७ जना विदेशी नागरिकलाई हवाई उद्धार गरिएको छ।

सम्पर्कविहीन हुनेहरूमा नेपाल प्रहरीका २७, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ३, रसुवाका ८६५, नुवाकोटको १५५८, जलविद्युत आयोजनाका ९३३, मकवानपुरका ६५ र लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना रहेका छन्। यसैगरी, ५५२ जना विदेशी नागरिक र नेपाल घुम्न आएका विदेशमा बस्ने १२७ जना नेपाली नागरिक पनि सम्पर्कविहीन छन्।

बाढी प्रभावित क्षेत्रमा राहत र पुनरुत्थानको काम पनि अघि बढाइएको छ। प्रभावित क्षेत्रमा हालसम्म ३७ ट्रक, ३५ बोलेरो र हेलिकप्टरबाट ८ वटा उडानमार्फत खाद्य तथा गैरखाद्य सामग्री पठाउनुका साथै सञ्चार सेटहरू समेत वितरण गरिएको छ। 

पहिचान खुल्न नसकेका शवहरू विभिन्न जिल्लाका २१ अस्पतालमा राखिएका छन‍्।

प्रकाशित: १५ भाद्र २०८३ १०:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App