रसुवा जिल्लामा आएको बाढीपछि २८ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन्। बुधबार बिहान १० बजेसम्मको विवरणअनुसार विभिन्न प्रहरी कार्यालयमा कार्यरत ६४ जनामध्ये ३६ जना सम्पर्कमा आएका छन्।
इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत २३ जनामध्ये १३ जना सम्पर्कमा आएका छन्। प्रहरी चौकी रसुवागढीमा कार्यरत ९ जनामध्ये १ जना, प्रहरी चौकी स्यार्पुबेंसीमा ८ जनामध्ये ५ जना र अस्थायी प्रहरी पोस्ट मैलुङमा ८ जनामध्ये ३ जना सम्पर्कमा आएका छन्।
त्यस्तै, प्रहरी चौकी बेत्रावतीमा कार्यरत १० जनामध्ये ९ जना र प्रहरी चौकी हाकुमा कार्यरत ६ जनामध्ये ५ जना सम्पर्कमा आएका छन्।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा सुरक्षाका लागि ३ हजार ३१८ जना प्रहरी परिचालन गरिएको छ।
बाढीपछि विभिन्न जिल्लामा हालसम्म १७७ शव फेला परेका छन्। रसुवामा २, नुवाकोटमा १२, धादिङमा २७, चितवनमा ६९, गोरखामा २०, तनहुँमा ९, नवलपरासी पूर्वमा ३२ र नवलपरासी पश्चिममा ६ शव फेला परेको विवरणमा उल्लेख छ।
त्यस्तै, विभिन्न अस्पतालमा ३३ जना घाइतेको उपचार भइरहेको छ। त्रिवि शिक्षण अस्पतालमा १९ जना, ट्रमा सेन्टरमा ८ जना, वीर अस्पतालमा २ जना, वीरेन्द्र सैनिक अस्पतालमा १ जना, नर्भिक अस्पतालमा २ जना र मनमोहन अस्पतालमा १ जना उपचाररत छन्।

प्रकाशित: ११ भाद्र २०८३ १३:१८ बिहीबार





