११ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

रसुवा बाढी : जलविद्युत आयोजनामा काम गर्ने ताप्लेजुङका चार जना सम्पर्कविहीन

त्रिशुली र भोटेकोशीसहितका नदीमा आएको बाढीका कारण त्यहाँस्थित जलविद्युत आयोजनामा काम गर्न गएका ताप्लेजुङका चार जना वेपत्ता भएको प्रारम्भिक विवरण बाहिर आएका छन् ।

आठराई त्रिवेणी गाउँपालिका वडा नं १ निघुरादिनका ३ जना र पाथीभरा याङवरक गाउँपालिकाका १ जना अहिलेसम्म सम्पर्कमा नआएको स्थानीयले जानकारी दिएका छन् ।

आठराई त्रिवेणी गाउँ कार्यपालिका सदस्य शान्ता गुरुङका अनुसार निघुरादिनका पासाङतेन्जी शेर्पा, ङिमासाङे शेर्पा र पासाङ शेर्पा रहेका छन् । उनीहरु रसुवास्थित जलविद्युत परियोजनामा काम गर्न गएको तर कुन जलविद्युत भन्ने थाहा नभएको कार्यपालिका सदस्य गुरुङले जानकारी दिएकी छन् । कार्यपालिका सदस्य गुरुङ निघुरादिनकै हुन् ।

यस्तै नुवाकोटस्थित त्रिशुली ‘बी’ जलविद्युत परियोजनामा कार्यरत पाथीभरा याङवरक गाउँपालिका वडा नं २ थेचम्बुका भीष्म चापागाईं पनि बेपत्ता भएका छन् । बेपत्ता भएका भनिएकाहरु बाढीपछि परिवारको सम्पर्कमा नरहेको र अहिलेसम्म फोनसमेत नलागेको स्थानीयले बताएका छन् ।

यसैबीच जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले ताप्लेजुङ जिल्लाबाट रसुवा, नुवाकोटलगायत भोटेकोशी बाढी प्रभावित जिल्लाका विभिन्न स्थान र क्षेत्रमा व्यापार, रोजगारी र पर्यटकका रुपमा तथा अन्य कामको सिलसिलामा गएका व्यक्तिहरु आफन्तको सम्पर्कमा आए नआएको यकिन गर्न जिल्लावासीलाई आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बिहीबार एक सार्वजनिक सूचना आह्वान गर्दै बाढी प्रभावित क्षेत्रमा परेको र हालसम्म सम्पर्कमा नआएको भए नजिकैको प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेडक्वार्टर कञ्चनजंघालगायत अन्य सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारीको मोबाइल नम्बर ९८५२६३७७७७, सहायक प्रमुख जिल्ला अधिकारीको नम्बर ९८५२६६०२७०, जिल्ला प्रहरी कार्यालयको नम्बर १०० तथा जिल्ला प्रहरी प्रमुखको नम्बर ९८५२६३५५५५, सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्मका गुल्मपतिको नम्बर ९८५१२७२२०३ र जिल्ला आपतकालीन कार्य सञ्चालन क्षेत्रको नम्बर १२३४ तथा मोबाइल नम्बर ९८५२६६०३६७ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रकाशित: ११ भाद्र २०८३ १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App