लमजुङको बेंसीसहर नगरपालिका–६ स्थित खरखरेमा खसेको पहिरो पन्छाएपछि हिमाली जिल्ला मनाङ जोड्ने एकमात्र बेंसीसहर–चामे सडक खण्ड पुनः सञ्चालनमा आएको छ।
आइतबार दिउँसो वर्षाका कारण पहिरो खसेर अवरुद्ध भएको उक्त सडक प्रहरी र स्थानीयको सक्रियतामा पहिरो हटाएसँगै सुचारु भएको हो।
जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर क्षेत्रीले सडकमा खसेको पहिरो पन्छाएर यातायात पूर्ण रूपमा सुचारु गराइएको जानकारी दिए।
सडक खुलाएसँगै पहिरोका कारण बीच बाटोमै अलपत्र परेका यात्रु र सवारी साधनहरू सुरक्षित रूपमा आ-आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
बेंसीशहरबाट करिब साढे ३ किलोमिटरको दूरीमा पर्ने उक्त सडक खण्डमा आइतबार दिउँसो अविरल वर्षाका कारण पहिरो खसेको थियो।
यो सडक खण्डले मनाङलाई मात्र नभई लमजुङकै मर्स्याङ्दी गाउँपालिकालाई समेत जोड्ने भएकाले यहाँ सवारी साधनको बाक्लो चाप हुने गर्दछ। वर्षायाममा यस सडकखण्डको खरखरे क्षेत्र मा पटक-पटक पहिरो खसेर आवतजावत प्रभावित हुँदै आएको छ।
प्रकाशित: २८ असार २०८३ १७:०१ आइतबार





