राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद् रिमा विश्वकर्माले देशमा बढ्दै गएको आत्मदाह र आत्महत्याका घटनाप्रति चिन्ता व्यक्त गर्दै नागरिकको मानसिक स्वास्थ्यलाई सरकारको प्राथमिक कार्यसूचीमा राख्न माग गरेकी छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद् विश्वकर्माले नीतिगत सुधारको दौडमा रहेको सरकारलाई सचेत गराएकी हुन्।
तीव्र गतिमा कुदिरहेको सरकारलाई ‘ट्रक साहित्य’ को उदाहरण दिँदै उनले भनिन्, ‘एक्सप्रेस वेमा तीव्र गतिमा अगाडि बढिरहेको सरकारलाई म एउटा ट्रक साहित्य सम्झाउन चाहन्छु, हतार गरे भन्न सकिन्न, बिस्तारै गए अवश्य पुगिन्छ।’
उनले सरकारले हतारमा कानुन बनाउँदा लक्षित वर्ग नै मारमा परिरहेको त छैन भन्दै प्रश्नसमेत गरिन्।
सांसद् विश्वकर्माले पछिल्लो समय मुलुकभर आत्मदाह र आत्महत्याका प्रयासका घटनाहरू बढ्दै गएको उल्लेख गर्दै यसले नागरिकको मानसिक स्वास्थ्य र राज्य संयन्त्रमाथि गम्भीर प्रश्न उठाएको बताइन्। ‘के साच्चै नागरिकले आफ्नो पीडा सुनाउन र न्याय पाउन यस्तो आत्मघाती कदम चाल्नुपर्ने अवस्था आएको हो ?’ उनले सोधिन्।
उनले अकालमा ज्यान गुमाएका गणेश नेपाली, विवेक मण्डल र अश्विन राउतप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिन्। राज्यले दलित तथा सीमान्तकृत समुदायको मृत्युपछि केवल श्रद्धाञ्जली र क्षतिपूर्ति बाँडेर मात्र आफ्नो दायित्व पूरा नहुने उनको तर्क थियो।
उनले सुशासनलाई प्राथमिकतामा राखेको सरकारले अब नागरिकको मानसिक स्वास्थ्यलाई पनि प्रमुख एजेन्डा बनाउनुपर्नेमा जोड दिइन्। राजनीतिक दायित्वसँगै सामाजिक र नैतिक जिम्मेवारीलाई पनि संवेदनशीलताका साथ आत्मसात् गर्न उनले सरकारको ध्यानाकर्षण गराइन्।
प्रकाशित: ३० असार २०८३ १५:२७ मंगलबार





