११ आश्विन २०८३ आइतबार
image/svg+xml
समाज

कालीगण्डकीको बाढीले संकटमा बेनी: बस्ती कटान गरेपछि सडक, बिजुली र पानी ठप्प

कालीगण्डकी नदीको भीषण बाढीले पक्की तटबन्ध र सडक भत्काएर म्याग्दीको सदरमुकाम बेनी बजारतर्फ तीव्र कटान सुरु गरेको छ। लगातार तीन दिनदेखिको झरीका कारण नदी उर्लिँदा पाँच सयभन्दा बढी परिवारको बसोबास रहेको सदरमुकाम उच्च जोखिममा परेको हो।

बेनी नगरपालिकाका प्रमुख सुरत केसीका अनुसार गणेशटोलको पछाडि कालीगण्डकी नदी किनारमा निर्माण गरिएको करिब १०० मिटर पक्की पर्खाल बाढीले भत्काएर बस्तीतर्फ कटान गर्न थालेको हो। बाढीले तटबन्धसँगै कुनातर्फ निर्माण गरिएको बेनी चक्रपथ सडकसमेत बगाएको छ।

उक्त स्थानमा जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजनामार्फत कम्पोजित प्रविधिको पर्खाल र सघन सहरी विकास आयोजनाले चक्रपथ सडक निर्माण गरेका थिए। नदी बस्तीमै पस्ने खतरा बढेपछि जोखिममा परेका घरका बासिन्दा र धनमाल सुरक्षित ठाउँमा सार्न थालिएको छ।

यसअघि कालीपुल क्षेत्रका बासिन्दाहरू बाढीको त्रासका कारण राति नै म्याग्दी बहुमुखी क्याम्पसको भवनमा पुगेर आश्रय लिएका थिए। थप क्षति हुन नदिन प्रशासन र स्थानीय तहले उच्च सतर्कता अपनाएका छन्।

हाल बेनीस्थित म्याग्दी र कालीगण्डकी नदीको दोभानमा पानीको सतहले खतराको तह पार गरेको छ। बेनी-७ र ८ मा पर्ने बेनी बजार क्षेत्रमा ५०० भन्दा बढी परिवारको बसोबास रहेकाले नदी कटानले मानवीय र भौतिक क्षतिको त्रास बढाएको छ।

बाढी र पहिरोका कारण सदरमुकाम बेनी यतिबेला चारैतर्फबाट सम्पर्कविहीन बनेको छ। बेनीलाई प्रदेश र सङ्घीय राजधानीसँग जोड्ने प्रमुख मालढुङ्गा-बेनी सडक पूर्ण रूपमा अवरुद्ध भएको छ भने ग्रामीण क्षेत्र जोड्ने सडक सञ्जालसमेत ठप्प छन्।

यातायात सम्पर्क टुटेसँगै सदरमुकाममा शनिबार रातिदेखि विद्युत् आपूर्तिसमेत पूर्ण रूपमा बन्द छ। बत्ती नहुँदा र संरचनामा क्षति पुगेपछि बेनी बजारमा खानेपानीको आपूर्तिसमेत ठप्प भएको छ। रासस

प्रकाशित: ११ आश्विन २०८३ १६:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App