अष्ट्रेलियालाई कर्मथलो बनाएर प्राध्यापन पेसामा आबद्ध नेपाली योगी आचार्य राजन शर्माको यो वर्ष नेपाल आउनुको मुख्य उद्देश्य थियो, कैलाश मानसरोवर पुगेर अन्तर्राष्ट्रिय योग दिवस मनाउनु र यहाँका साधकहरूबीच योग तथा ध्यान कार्यक्रम सम्पन्न गर्नु।
यही उद्देश्य अनुरूप असारको पहिलो साता नेपाल आएलगत्तै उनले कैलाश मानसरोवरमा योग दिवस मनाउने घोषणा गरे। प्रक्रिया पूरा गर्न उनी शिक्षा तथा प्रविधि मन्त्रालय पुगे। मन्त्रालयले उनको हातमा नेपालको राष्ट्रिय झण्डा ठम्याइदियो। असार ३ गते पशुपतिनाथ मन्दिरबाट कैलाश मानसरोवरको यात्रा सुरु गर्दा उनका खुट्टामा न जुत्ता थिए, न त चप्पल नै।
नेपाल आएको तीन दिनपछि नै उनी खाली खुट्टाकै भरमा सबै यात्रा र कार्यक्रममा सरिक भए। कैलाश मानसरोवरको करिब ५२ किलोमिटर लामो अत्यन्तै कठिन पैदल यात्रा उनले खाली खुट्टै पूरा गरे। माइनस डिग्री तापक्रम र हिउँको बाटोमा समेत उनले जुत्ता-चप्पलको सहारा लिएनन् ।
उनको यस अद्भूत यात्रा देखेर तिब्बतीहरूले उच्च सम्मान व्यक्त गरे । तिब्बतीहरूका अनुसार यसअघि खाली खुट्टै कैलाश यात्रा गर्न खोजेका एक चिनियाँ यात्रुको यात्रा अधुरै रहेको थियो।
‘मेरो खाली खुट्टाको यात्रा देखेर तिब्बतीहरूले मेरो सामु शिर झुकाएर सम्मान व्यक्त गरे,’ आचार्य राजनले भने।
हिउँको त्यो कठोर यात्रामा आचार्य शर्मासँगै रहेका अन्य साधकहरूलाई भने चिसोका कारण बीच बाटोमै उद्धार गर्नुपरेको थियो भने कतिपयका लागि एम्बुलेन्स नै बोलाउनुपर्यो। तर, आचार्य राजनलाई न हिउँको चिसोले छोयो, न त खुट्टामा काँडाहरू नै बिझे। उनी खाली खुट्टाकै भरमा मानसरोवर पुगेर साधक टोली सहित योग दिवस मनाउन सफल भए।
कैलाश यात्रा सकेर पाँच दिनपछि नेपाल फर्केका उनी यहाँका सबै कार्यक्रममा खाली खुट्टै सहभागी भए। उनी शौचालय जाँदा समेत खाली खुट्टै जाने गर्छन्। ‘शौचालय जान्छु, निस्केर खुट्टा धुन्छु,’ उनले भने।
हल्का सुन्तला रङको सादा कुर्ता-सुरुवाल र घाँटीमा रुद्राक्षको माला पहिरिएर उनी नेपालभर हिँडेका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल छन्। ‘किन खाली खुट्टा ?’ भन्ने प्रश्नमा उनको सहज उत्तर छ, ‘म विगत चार/पाँच वर्षदेखि कर्मभूमि अष्ट्रेलियासहित आफू पुगेका अन्य देशहरूमा पनि खाली खुट्टामै यात्रा गरिरहेको छु। लगाउने पहिरन पनि यही नै हो, दुई जोर भए पुग्छ।’
आचार्य शर्माका अनुसार उनले अमेरिका र अष्ट्रेलियाका विभिन्न ठाउँमा पुग्दा पनि खाली खुट्टै यात्रा गर्ने गरेका छन्। खाली खुट्टा हिँड्नु उनको दैनिकी नै बनिसकेको छ। खाली खुट्टा प्रतिबन्धित गरिएका वा विशेष ‘ड्रेस कोड’ अनिवार्य गरिएका ठाउँबाहेक उनी जताततै खाली खुट्टै हिँड्छन्।
आफूले अध्यापन गर्ने अष्ट्रेलियाको विश्वविद्यालय जाँदा भने उनले बाध्यतावश जुत्ता लगाउने गरेका छन्। अष्ट्रेलिया बसाइका क्रममा सुरक्षाका दृष्टिले अनिवार्य जुत्ता लगाउनुपर्ने ठाउँमा उनी परालको जुत्ता प्रयोग गर्छन्। असार २१ गते सोमबार नेपालबाट अष्ट्रेलिया उड्दा पनि उनी विमानस्थलमा खाली खुट्टामै थिए।
खाली खुट्टा हिँड्नुको वैज्ञानिक महत्त्वबारे उनी भन्छन्, ‘खाली खुट्टा हिँड्दा धर्तीको माटोसँग पैतालाको सीधा स्पर्श हुन्छ। यसले शरीरमा अक्सिजनको प्रवाह बढाउँछ र प्रतिरक्षा प्रणाली बलियो बनाउँछ। आजको आधुनिक र प्रकृतिविरोधी जीवनशैलीले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको छ।’
दुई जोर सादा पोसाक र खाली खुट्टाको यात्राले आफूभित्र अहंकारलाई जितेर प्रकृतिमुखी अनुभूति गराउने उनी बताउँछन्।
विगत दुई दशकदेखि अष्ट्रेलियामा बस्दै आएका शर्माले त्यहाँ विश्वविद्यालयमा अध्यापन गर्नुका साथै पहिलो नेपाली विवाह दर्ता गर्ने कार्यालय पनि सञ्चालन गर्छन्। उनले अष्ट्रेलियामा ‘विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज’ को स्थापना गरी विश्वभर अध्यात्मको प्रचार गरिरहेका छन्।
हाल विश्वका ७० देशमा उनका साधक छन् भने ४५ देशमा योग तथा ध्यान समिति क्रियाशील छन्। नेपाल, थाइल्याण्ड, क्यानडा, फिजी, न्युजील्याण्ड, इजरायल, कतार, अमेरिका र अष्ट्रेलिया गरी विश्वका १० देशमा उनका आध्यात्मिक आश्रमहरू सञ्चालनमा रहेका छन्।
प्रकाशित: २९ असार २०८३ २१:५० सोमबार





