गाउँका पर्यटकीय गन्तव्यले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि एक अर्कासँग सहकार्य गर्ने निर्णय गरेका छन् । तनहुँको पर्यटकीय क्षेत्र बन्दीपुरमा आयोजित गाउँ पर्यटन मार्टका सहभागि होमस्टेले आन्तरिक पर्यटक आदानप्रदान गराउनेगरि सहकार्य गर्ने निर्णय गरेका हुन । पाहुना आदानप्रदान गराउन सके गाउँले पर्यटन क्षेत्रबाट लाभ पाउने उनीहरुको भनाई छ । पाहुनाको बसाई अवधि बढाउनमा पनि सहकार्य गर्ने भएका छन् ।
पाहुना आदानप्रदान गर्ने मात्र नभई संयुक्त प्याकेज पनि सार्वजनिक गर्ने निर्णय ती गाउँहरुले गरेका छन् । संयुक्त प्याकेज ल्याएर पाहुनालाई गाउँ भित्र्याउने योजना उनीहरुको छ । पर्यटन बोर्ड गण्डकी र बन्दीपुर गाउँपालिकाको आयोजना तथा गाउँ पर्यटन प्रर्वद्धन मञ्च (भिटोफ) गण्डकीको सह आयोजनामा बन्दीपुरमा दुईदिनसम्म गाउँ पर्यटन मेला चलेको थियो । मेलामा ३० वटा होमस्टेले सहभागिता जनाएका थिए । तिनै होमस्टेले संयक्तु घोषणापत्र जारी गर्दै पर्यटनमा सहकार्य गर्ने निर्णय गरेका हुन ।
पर्यटन बोर्ड गण्डकीका वरिष्ठ निर्देशक मणिराज लामिछानेका अनुसार मेलाका सहभागि होमस्टेले आगामि दिनमा सहकार्य गरेर पर्यटन प्रवद्र्धनमा सघाउने गरि सहमति गरेका छन । संयुक्त घोषणापत्र जारी गर्दै आन्तरिक पर्यटकलाई गाउँगाउँ पुर्याउने गरि सहकार्यको निर्णय गरेको पनि उनले बताए । उनका अनुसार आगामी वर्ष पाँचौं संस्करणको गाउँ पर्यटन मार्ट गोरखा नगरपालिकामा आयोजना गर्ने निर्णय भएको छ । गोखराको ऐतिहासिक तथा सांस्कृतिक पर्यटनलाई थप उजागर गर्नेगरि अहिले निर्णय भएको उनले बताए ।
लामिछानेका अनुसार बन्दीपुरमा भएको गाउँ पर्यटन मार्टले सरोकारवालाबीच सशक्त नेटवर्किङ र सहकार्यको आधार निर्माण भएको छ । यसले गाउँ पर्यटनको दिगो विकासमा नयाँ उर्जा थपेको पनि लामिछानेले बताए । ‘गण्डकी प्रदेशका ३० वटा होमस्टेले आफ्नो विशेषता, संस्कृति र आतिथ्यता प्रदर्शन गरी स्थानीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याएका छन् । यसले होमस्टेको पहिचान अझ सुदृढ भएको छ,’ उनले भने ।
उनका अनुसार प्रत्येक होमस्टेमा स्थानीय उत्पादन, हस्तकला र परिकारको प्रवद्र्धनका लागि स्थानीय तहसँग सहकार्य गरेर ‘कोसेली घर’ स्थापना गर्न पहल गर्ने घोषणा पनि बन्दीपुरबाट गरिएको छ । ‘गाउँ पुगेका पाहुनाले कोसेली घरमार्फत आफुलाई मन पर्ने कोसेली किनेर लैजान सक्छन, त्यसले आर्थिक रुपमा गाउँलाई नै लाभ हुन्छ,’ उनले भने, ‘गाउँको प्रडक्टले बजार पनि पाउँछ । यसले स्थानीयको आम्दानी बढाउन सघाउँछ ।’
त्यस्तै प्रत्येक वर्ष आयोजना हुने मार्टमा ‘बेस्ट होमस्टे अफ द इयर’ पुरस्कार प्रदान गरिने व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ । गुणस्तरीय सेवा र प्रतिस्पर्धात्मक विकासलाई प्रोत्साहन गर्नका लागि पुरस्कारको व्यवस्था गरेको पनि उनले बताए । त्यस्तै होमस्टेमा स्वच्छता, आतिथ्यता र सेवा गुणस्तर सुधार गर्न आवश्यक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
स्थानीय उत्पादन, कृषि र हस्तकलालाई पर्यटनसँग जोड्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्नेगरि रणनीति अपनाइने पनि घोषणापत्रमा उल्लेख छ । गाउँ पर्यटनमा युवाको सहभागिता बढाउन रोजगारी तथा उद्यमशीलताका अवसर सिर्जना गरिने प्रतिबद्धता गरिएको पनि घोषणापत्रमा उल्लेख गरिएको छ । घोषणा–पत्रमार्फत गाउँ पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण आधारका रुपमा स्थापित गर्दै ‘समृद्ध गाउँ, सशक्त पर्यटन’ को लक्ष्य हासिल गर्ने प्रतिबद्धता पनि जनाइएको लामिछानेले जानकारी दिए ।
‘गाउँका पर्यटकीय गन्तव्यको यो मार्टमार्फत प्रवद्र्धन भएको छ । कतिपय गाउँले होमस्टेको प्याकेज नै सार्वजनिक पनि गरेका छन्,’ उनले भने, ‘एकअर्का गाउँबीच सहकार्यको लागि ढोका खुलेको छ । एउटा गाउँको अभ्यासलाई अर्काले सिक्ने मौका पाएका छन् । सिकाई साटासाटका लागि पनि यो मार्ट फलदायी बनेको छ,’ उनले भने । उनका अनुसार पोखरामा हुँदै आएको यो मार्ट विभिन्न जिल्लामा विकेन्द्रीत गर्दा ती जिल्लाका पर्यटकीय गन्तव्यको पनि प्रवद्र्धन हुने अपेक्षा छ । बन्दीपुरको मौलिकता र संस्कृति झल्कने गरि आयोजित मार्टले बन्दीपुरको पर्यटनलाई अझै माथि उकास्न सघाएको पनि लामिछानेले बताए ।
स्थानीय पर्यटन व्यावसायी बैश गुरुङ मार्ट मार्फत बन्दीपुरको प्रवद्र्धनमा थप बल पुगेको बताउँछन् । बन्दीपुर डाँडा मात्र नभई वरपरका पर्यटकीय स्थलमा पाहुना पुर्याउनुपर्छ भन्नेमा जोडबल पुगेको पनि उनले बताए । ‘अब पर्यटनबाट बन्दीपुरले मात्र नभई आसपासका गाउँले पनि लाभ लिन सक्नुपर्छ भन्नेमा एकमत जुटेको छ,’ गुरुङले भने, ‘गाउँमा पर्यटक लैजाने उपायबारे पनि छलफल भयो । छलफलले बन्दीपुरको पर्यटन उकास्न सघाउने अपेक्षा छ । बन्दीपुर मात्र नभई आसपासका गाउँमा आगामि दिनमा थप पाहुना पुर्याउन सकिनेमा हामी आशावादी बनेका छौं ।’
उनका अनुसार अहिले बन्दीपुर गएका पाहुनाको बसाई अवधि बढिमा एकरात मात्र रहेको छ । गाउँका पर्यटकीय गाउँसम्म पाहुना लैजान सक्ने हो भने अहिलेको बसाई अवधि बढाएर दुईरात पुर्याउन सकिने उनको अपेक्षा छ । ‘बसाई अवधि लम्ब्याउनु भनेको पर्यटनबाट लाभ पाउनु हो । आएका पाहुना कम्तिमा २ रात बन्दीपुर क्षेत्रमा बस्दा पर्यटकीय गतिवधि बढ्नेछ,’ उनले भने । पछिल्लो समय सरकारले सातामा दुईदिन सार्वजनिक बिदा दिएकोले योबिदाको लाभ पर्यटकीय गाउँले लिन सक्ने पनि उनले बताए ।
भिटोफ गण्डकी अध्यक्ष शोभाकुमारी सापकोटाले ग्रामीण क्षेत्रका लागि होमस्टे आयआर्जन गर्ने माध्यम बनेकोले पाहुनालाई गाउँसम्म पुर्याउने लक्ष्यका साथ मार्ट आयोजना भएको बताईन । ‘गाउँमा पुगेका पाहुनालाई आतिथ्यता दिएर आम्दानी गर्ने भएकोले होमस्टेमा धेरै गाउँ आकर्षित भएका छन,’ उनले भनिन, ‘गाउँमा पाहुना पुर्याउँदा पर्यटनमार्फत लाभ त हुन्छ नै स्थानीय उत्पादनले पनि बजार पाउने अवस्था रहन्छ । त्यसले समग्र गाउँलेको आम्दानी बढाउँछ ।’ बन्दीपुरमा भएको मार्टले आसपासका गाउँले पनि पर्यटकलाई भित्र्याउन सक्नेछन् । पाहुनालाई गाउँसम्म लैजानेगरि गाउँहरुले सहकार्य पनि गरेको उनले बताईन ।’
बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा बन्दीपुर आफैमा पुरानो सहर भएको र पर्यटनका हिसाबले महत्वपूर्ण गन्तव्य बनेकोले बन्दीपुर आसपासका ग्रामीण क्षेत्रको प्रवद्र्धन गर्नका लागि यो मार्ट आयोजना गरिएको बताए । ‘बन्दीपुर आसपासमा होमस्टे संचालन गरिरहेका आठवटा गाउँलाई जोडेर सर्किट बनाईरहँदा पर्यटकलाई ती गाउँसम्म पुर्याउने लक्ष्य हामीले लिएका छौ । गाउँसम्म पाहुना लैजानेबारे प्रवद्र्धन गर्न यो मार्ट बलियो माध्यम बनेको छ,’ थापाले भने, ‘बन्दीपुर आफैमा सुन्दर छ । त्यहाँको हावापानी पनि पर्यटनका हिसाबले अति उत्तम रहेको छ । प्रकृति र साहसिक गतिविधिका हिसाबले पनि बन्दीपुर गतिलो गन्तव्य हो । पर्यटनको लाभ अब सहरले मात्र नभई गाउँले पनि पाउनुपर्छ भन्नेमा हाम्रो जोडबल छ ।’ सन् २०२५ मा बन्दीपुरमा ६ लाख २५ हजार जना पाहुना पुगेका थिए । यो वर्ष आठलाख पाहुना लैजाने बन्दीपुरको योजना छ ।
प्रकाशित: २० वैशाख २०८३ १९:३२ आइतबार




-600x400.jpg)