निर्वाचन आयोगले भौगोलिक रूपमा विकट मानिने १५ जिल्लाका ६१ स्थानबाट मतपेटिका हेलिकोप्टरमार्फत गणनास्थलमा ल्याउने भएको छ।
बुधबार आयोजित पत्रकार सम्मेलनमा आयोगका सचिव कृष्णबहादुर राउतले यस्तो जानकारी दिएका हुन्।
सचिव राउतका अनुसार ताप्लेजुङदेखि दार्चुलासम्मका १५ जिल्लाका ६१ दुर्गम स्थानबाट मतदानपछिका मतपेटिका हेलिकोप्टर प्रयोग गरी संकलन गरिनेछ।
अन्य सुगम स्थानहरूबाट भने सवारीसाधनमार्फत नै मतपेटिका ढुवानी हुनेछ।
मतपेटिका ढुवानीका लागि आवश्यक रकम सम्बन्धित जिल्ला निर्वाचन कार्यालयहरूमा पठाइसकिएको उनले बताए। ‘सबै सुरक्षा निकायको समन्वयमा मतपत्रसहितको मतपेटिका सुरक्षित तवरले गणनास्थलसम्म ल्याइनेछ,’ उनले भने।
यसअघि डोल्पाका २३ र हुम्लाका ४ अति विकट मतदान स्थलमा मतपत्र, मतपेटिका, कर्मचारी र सुरक्षाकर्मीलाई समेत हेलिकोप्टरमार्फत नै पठाइएको उनले जानकारी दिएका छन्।
प्रकाशित: २० फाल्गुन २०८२ १५:४७ बुधबार





