२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

बालेन्द्रको घोषणापत्रले चिनियाँ बीआरआईलाई ‘झट्का’, भारतीय मिडियामा छायो खुसीयाली

आगामी फागुन २१ मा हुन लागेको निर्वाचनको पूर्वसन्ध्यामा झापा क्षेत्र नम्बर ५ को राजनीति निकै तातिएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाहबिचको प्रतिस्पर्धाले यो क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चाको केन्द्र बनाएको छ।

यसैबिच, ओलीको महत्वाकांक्षी योजना मानिएको चिनियाँ ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) अन्तर्गतको औद्योगिक पार्कलाई बालेन्द्रले आफ्नो चुनावी घोषणापत्रबाट हटाएपछि नयाँ बहस सुरु भएको छ। यो परियोजना चिनियाँ राष्ट्रपति जिनपिङको बीआरआई कार्यक्रमको एक हिस्सा हो।

झापाको दमक, कमल र गौरादह क्षेत्रमा २२ सय बिघामा फैलिने ‘चीन-नेपाल मैत्री औद्योगिक पार्क’ को शिलान्यास पूर्वप्रधानमन्त्री ओलीले सन् २०२१ फेब्रुअरीमा गरेका थिए। यो परियोजनालाई नेपाल र चीनबिचको मित्रताको प्रतीक मानिन्छ। ओलीले सार्वजनिक गरेको ४१ बुँदे प्रतिबद्धता पत्रमा पार्क निर्माण सम्पन्न गर्ने योजनालाई प्राथमिकता दिएका छन्। तर बालेन्द्रको घोषणापत्रमा यो योजना कतै उल्लेख गरिएको छैन।

यसलाई लिएर भारतीय पक्ष खुसी देखिन्छ। भारतीय सञ्चार संस्था नवभारत टाइम्सले भारतका लागि खुसीको खबर भन्दै ‘चिकेन नेक पर भारत के लिए नेपाल से खुशखबरी, बालेन शाह ने चीन के BRI को दिया झटका, ओली के मंसूबे होंगे फेल’ अर्थात् ‘चिकेन नेकमा भारतका लागि खुसीको खबर, बालेन शाहले चीनको बीआरआईलाई दिए झट्का, ओलीको योजना फेल हुने’ शीर्षकमा समाचार सम्प्रेषण गरेको छ।

यो परियोजना नेपाल-भारत सीमा नजिक र रणनीतिक रूपमा संवेदनशील मानिने ‘सिलिगुडी करिडोर’ वा ‘चिकन  नेक’ सँग जोडिएकाले भारतले यसमा लामो समयदेखि चासो र चिन्ता देखाउँदै आएको थियो। सरकारी अधिकारीका अनुसार भारतीय पक्षले सम्भव भएसम्म यो परियोजना अघि नबढाउन नेपाललाई सल्लाह दिइरहेको छ।

बालेन्द्रले परियोजना हटाएपछि औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले उनलाई विदेशी शक्तिबाट सञ्चालित भएको आरोप लगाएका छन्। थापाले फेसबुकमा शाहले घोषणापत्रमा औद्योगिक पार्कको उल्लेख नगर्नुको कारण नेपालमा चिनियाँ लगानी रोक्ने अभियान चलाएको आरोप लगाए। यस्तो नीतिले नेपाललाई युक्रेन बनाउन सक्ने चिन्ता उनको छ। उनले औद्योगिक पार्कले स्थानीयको जीविकोपार्जनमा सुधार ल्याउने र यो कुनै सैन्य सैन्य गतिविधिका लागि नभएको दाबी गरेका छन्।

करिब ६४ अर्ब रुपैयाँ बराबरको चिनियाँ लगानी स्वीकृत भइसकेको यो पार्कमा दुई दर्जनभन्दा धेरै कम्पनीले उद्योग खोल्ने प्रतिबद्धता जनाइसकेका छन्। बालेन्द्रले पार्कलाई नसमेटे पनि ओलीकै पालामा बनेको १८ तले दमक भ्यू टावरलाई भने प्रभावकारी रूपमा प्रयोगमा ल्याउने बाचा गरेका छन्। निर्वाचन नजिकिँदै गर्दा झापाको यो चुनावी लडाइँ अब केवल दुई नेताबिचको प्रतिस्पर्धा मात्र नभएर चीन र भारतको कूटनीतिक प्रभावको विषयसमेत बनेको देखिन्छ।

प्रकाशित: १६ फाल्गुन २०८२ ११:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App