नागरिक न्यूजका लेखक तथा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक डा. उमेशप्रसाद घिमिरेलाई बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था (साकोस) ले अभिनन्दन गरेको छ।
संस्थाको ३०औँ वार्षिक साधारणसभाका अवसरमा आयोजित विशेष समारोहमा डा. घिमिरेलाई विद्यावारिधि उपाधि प्राप्त गरेकोमा सम्मान गरिएको हो।
डा. घिमिरेले नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत अनुसन्धान केन्द्रबाट वि.सं. २०८० मा पौरस्त्य दर्शनको परमलक्ष्य मानिने मोक्षतत्त्वमाथि तुलनात्मक अध्ययन गरी विद्यावारिधि उपाधि प्राप्त गरेका हुन्। उनको संस्कृत शोधप्रबन्धमा विभिन्न दार्शनिक परम्परामा प्रतिपादित मोक्षसम्बन्धी अवधारणाको तुलनात्मक अध्ययन गरिएको छ।
बाबियाखर्क साकोसका सदस्यसमेत रहेका डा. घिमिरेले यसअघि संस्थाको कार्यसमिति सदस्य तथा विभिन्न उपसमितिमा रहेर संस्थागत विकास, व्यवस्थापन र सामाजिक उत्तरदायित्वका क्षेत्रमा योगदान दिएका थिए।
संस्थाका अध्यक्ष ताराप्रसाद घिमिरेले विद्यावारिधि प्राप्त गर्दाका समयमा डा. घिमिरे कार्यसमिति सदस्य रहेकाले तत्काल सम्मान गर्न सम्भव नभएको र कार्यसमितिबाट अलग भएपछि साधारणसभाको अवसर पारेर अभिनन्दन गरिएको बताए।
कार्यक्रममा पूर्वमन्त्री लक्ष्मणप्रसाद घिमिरे, पूर्वअध्यक्ष तथा सल्लाहकार ऋषिराज घिमिरे, पूर्वअध्यक्ष प्रदीपकुमार घिमिरेलगायतको उपस्थिति थियो।
प्रकाशित: ४ आश्विन २०८३ १९:४५ आइतबार




-600x400.jpg)
