३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

एक लाख घुससहित कल्याणपुरका मेयर रंगेहात पक्राउ

सिराहाको कल्याणपुर नगरपालिकाका प्रमुख (मेयर) रामपुकार साह एक लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासबाट खटिएको टोलीले उनलाई बुधबार आफ्नै कार्यकक्षबाट पक्राउ गरेको हो।

अख्तियारका अनुसार, मेयर साहले नगरपालिकाको २० लाख रुपैयाँ बजेटमा निर्माण सम्पन्न भएको एक नालाको भुक्तानीका लागि उपभोक्ता समितिसँग २० प्रतिशत कमिसन मागेका थिए।

कमिसन रकम दिन समितिले आनाकानी गरेपछि मेयर साहले भुक्तानीको चेक रोकेर राखेका थिए। अख्तियार स्रोतका अनुसार, पटक-पटकको वार्तापछि मेयरले चेक काट्नुअघि पहिलो किस्ताबापत १ लाख रुपैयाँ र चेक साटिएपछि बाँकी रकम बुझाउन दबाब दिएका थिए।

सोही उजुरीका आधारमा अख्तियारले कारबाही अघि बढाएको थियो। सोही रकम लिँदै गर्दा अख्तियारको टोलीले मेयर साहलाई रंगेहात नियन्त्रणमा लिएको हो।

हाल टोलीले नगरपालिका कार्यालयमा मुचुल्कालगायतका कानुनी प्रक्रिया पूरा गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए।

उनका अनुसार, पक्राउ परेका मेयरमाथि थप अनुसन्धान अगाडि बढाइनेछ।

प्रकाशित: ३२ असार २०८२ १४:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App