१२ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
समाज

सीमामा सेनाको चासो : ७२ घण्टा नाका बन्द

फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाल-भारत सीमा ७२ घण्टा बन्द हुने भएको छ। नेपाली पक्षले निर्वाचनका लागि सुरक्षा व्यवस्थालाई सुदृढ गर्न भारतीय समकक्षीसँग ७२ घण्टाका लागि सीमा बन्द गराउन आग्रह गरेको छ।

फागुन १८ गते रातिदेखि २२ गते बिहानसम्म सीमा नाका बन्द हुनेछ। सुरक्षा स्रोतका अनुसार २३ र २४ गते पनि विजयी हुने उम्मेदवारको सुरक्षालाई मध्य नजर गरी सीमा क्षेत्र प्रवेशमा कडाइ गरिनेछ। सुरक्षा स्रोतका अनुसार रौतटह घट्नापछि निर्वाचन सुरक्षामा खटिएको नेपाली सेनाले समेत यतिबेला पर्सामा चासो राखिरहेको छ। रौतहटमा बिहीबारदेखि समुदायबीचमा भएको झडपले पर्सामा समेत धक्का दिन सक्ने भएकाले सेनाको समेत चासो रहेको स्रोतको दाबी छ।

शनिबार वीरगन्जमा नेपाली र भारतीय सुरक्षा अधिकारीहरूको संयुक्त बैठकबाट सीमा नाका बन्द गराउने सहमति भएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहालका अनुसार अपराध नियन्त्रण, गैरमतदाताको प्रवेश, अवैध हतियारलगायतका गतिविधि नियन्त्रण गर्नका लागि सीमा सील गर्ने हकमा भारतीय समकक्षी सहमतको भएको बताए। निर्वाचन सुरक्षाका सवालमा दुवै सुरक्षा अधिकारीहरू आपसमा सूचना आदानप्रदान गर्ने विषयमा समेत छलफल भएको छ।  

भारतसँग जोडिएका मधेस प्रदेशका आठ वटै जिल्लाका सीमा नाका तीन दिन पूर्ण रूपमा बन्द हुनेछ। दुई पक्षीय सुरक्षा बैठकमा नेपाल र भारततर्फका दुवै सुरक्षकर्मीको संयुक्त सुरक्षा गस्ती हुने सहमति भएको छ।  

बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र र भारत बिहार पूर्वी चम्पाराण जिल्लाका डिक्सट्रिट मेजिस्ट्रेट सौरभ जोरवाल र पश्चिम चम्पारणका जिल्लाका मेजिस्ट्रेट धर्मेन्द्र कुमारको नेतृत्वमा दुवै देशका मातहतका सुरक्षा अधिकारीहरू सहभागी थिए।

निर्वाचनको मिति नजिकिँदै गएपछि मधेश प्रदेशका आठ वटै जिल्लाका सुरक्षा अधिकारीहरूले नियमित गस्ती खटाइसकेका छन्। सबैभन्दा बढी महोत्तरी जिल्लाको भारतीय सीमा क्षेत्रमा नेपाल  सुरक्षा निकायले  गस्ती थालेका छन्। पर्सा र रौतहटमा हाइअलर्टमा राखिएको छ भने बारामा पनि सुरक्षा अधिकारीहरूले नियमित गस्तीलाई अघि बढाइसकेका छन्।

साथै धुनषामा सुरक्षा अधिकारीहरूले चेकजाँचलाई तीव्रता दिएका छन्। सर्लाही हट स्पट भएकाले दोब्बर सुरक्षाकर्मीहरू परिचालित भएका छन्।

प्रकाशित: १० फाल्गुन २०८२ २०:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App