सशस्त्र प्रहरी बल मुख्यालयले पाँच जना प्रहरी उपरीक्षक (एसपी) र ७१ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा सार्वजनिक गरेसँगै संगठनभित्र सरुवालाई लिएर विभिन्न टीकाटिप्पणी सुरु भएको छ।
मुख्यालयले शुक्रबार बेलुका सार्वजनिक गरेको सरुवा सूचीमा विशेषगरी आर्थिक तथा खरिदसँग प्रत्यक्ष जोडिएका संवेदनशील कार्यालयमा गरिएको सरुवालाई लिएर मुख्यालयभित्रै चासो र चर्चा बढेको छ।
मुख्यालयले एसपी दयाराम शर्मालाई राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, ध्रुव केसीलाई केन्द्रीय लेखा, सुरेश खतिवडालाई आर्थिक प्रशासन, राजकुमार ढकाललाई एपीएफ अस्पताल तथा गणेशबहादुर मल्ललाई भण्डार महाशाखामा सरुवा गरेको छ।
सशस्त्र प्रहरी मुख्यालय स्रोतका अनुसार आर्थिक कारोबार र खरिद प्रक्रियासँग प्रत्यक्ष सम्बन्ध राख्ने महत्वपूर्ण कार्यालयमा केही अधिकृतलाई प्राथमिकताका साथ जिम्मेवारी दिइएको छ।
सोहीअनुसार एसपी ध्रुव केसीलाई केन्द्रीय लेखाको नेतृत्व, राजकुमार ढकाललाई करोडौँ रुपैयाँको खरिद हुने एपीएफ अस्पतालको जिम्मेवारी तथा दयाराम शर्मालाई प्रशिक्षण प्रतिष्ठानको लेखा व्यवस्थापनको जिम्मेवारी दिइएको हो।
संगठनभित्र आर्थिक रूपमा संवेदनशील मानिने कार्यालयमा गरिएको यो सरुवाप्रति विभिन्न कोणबाट चर्चा भइरहेको छ। विशेषगरी बजेट, लेखा र खरिद प्रक्रियासँग जोडिएका कार्यालयमा भएका पदस्थापनाले आगामी दिनमा संगठनको आर्थिक पारदर्शिता र सुशासनको परीक्षण गर्ने टिप्पणी संगठनभित्रै हुन थालेको छ।
यता, सशस्त्र प्रहरी स्कुल, कीर्तिपुरकी लेखा अधिकृत कल्पना गुरुङ ११ करोड रुपैयाँ मिटरब्याजमा लगानी गरेको आरोपमा पक्राउ परेकी छन्।
लेखा अधिकृत गुरुङले विवादास्पद व्यवसायी लीलाबहादुर लामा उर्फ टासीलाई सशस्त्र प्रहरीको कोषबाट ११ करोड रुपैयाँ उपलब्ध गराएको र उक्त रकम फिर्ता नभएको रहस्य बाहिरिएपछि प्रहरीले दुवै जनालाई नियन्त्रणमा लिएको स्रोतले जनाएको छ।
लेखा अधिकृत गुरुङ र व्यवसायी टासीमाथि सशस्त्र प्रहरी मुख्यालयले छानबिन गर्न लिखित रूपमा उजुरी दिएपछि प्रहरी परिसरले गुरुङ र टासीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको परिसरका प्रवक्ता पवन भट्टराईले बताए।
कल्पना गुरुङअघि सोही स्कुलको लेखा प्रमुख रहेका इन्स्पेक्टर महेन्द्र हमाल पनि यही प्रकरणको अनुसन्धानको दायरामा रहेको बताइए पनि उनीमाथि कारबाही अघि बढाइएको छैन। उनलाई हाल एपीएफ अस्पतालको लेखा प्रमुखजस्तो महत्वपूर्ण जिम्मेवारीमा सरुवा गरिएको स्रोतको दाबी छ। संगठनभित्र आईजीपी नारायणदत्त पौडेलले हमाललाई संरक्षण गरेको आरोपसमेत उठिरहेको छ।
११ करोड रुपैयाँ मिटरब्याजमा लगानी भएको समयमा सशस्त्र प्रहरी स्कुलका प्रमुख हाल सुदूरपश्चिम प्रदेशका डीआईजी दिग्बिजय सुवेदी थिए। यति ठूलो रकम संस्थागत प्रक्रिया बाहिर परिचालन हुँदा तत्कालीन नेतृत्वको भूमिकामाथि पनि प्रश्न उठेको छ।
मुख्यालयले डीएसपी सन्तोष चन्दलाई खरिद तथा लेखा व्यवस्थापनको जिम्मेवारी दिएको छ। उनी आईजीपी पौडेल निकट अधिकृतका रूपमा परिचित छन्।
सशस्त्र प्रहरीभित्र एकातिर ११ करोड रुपैयाँ मिटरब्याज प्रकरणको अनुसन्धान चलिरहेका बेला अर्कोतर्फ त्यही प्रकरणसँग जोडिएका वा अनुसन्धानको घेरामा रहेका पात्रहरूलाई संवेदनशील जिम्मेवारीमा सरुवा गरिनुले संगठनको पारदर्शिता र सुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।
प्रकाशित: २१ असार २०८३ १८:०८ आइतबार





