२० कार्तिक २०८२ बिहीबार
image/svg+xml ३:३९ पूर्वाह्न
समाज

पृथ्वी राजमार्गमा दुर्घटना भए १० सेकेन्डमै बज्नेछ सशस्त्रको साइरन

पृथ्वी राजमार्गमा हुने सवारी दुर्घटना तथा अन्य विपद्को घटनाबारे तत्काल जानकारी लिई द्रुत गतिमा उद्धार कार्य गर्न एक नौलो प्रविधिको सुरुवात गरिएको छ।

सशस्त्र प्रहरी बल नेपाल र लुना जिपिएस कम्पनीको सहकार्यमा राजमार्गका दुई अत्यधिक दुर्घटनाग्रस्त क्षेत्रमा ‘इलेक्ट्रिक डिभाइस’ जडान गरिएको हो।

यो आपत्कालीन सूचना प्रणाली चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल र धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित चरौँदीमा जडान गरिएको छ।

यी स्थानमा कुनै पनि दुर्घटना वा विपद्को घटना हुनासाथ उक्त डिभाइसबाट सिधै सशस्त्र प्रहरी बलको कुरिनटारस्थित विपद् व्यवस्थापन तालिम शिक्षालयमा सूचना पुग्नेछ।

कसरी काम गर्छ प्रणालीले ?

स्थानीय बासिन्दा वा घटना देख्ने जो कोहीले उक्त डिभाइसमा रहेको हरियो बटन १० सेकेन्डसम्म थिचेपछि कुरिनटारस्थित तालिम केन्द्रमा साइरन बज्नेछ।

साथै, त्यहाँ रहेको मनिटरमा घटना भएको स्थानको लोकेसनसहितको जानकारी देखिनेछ। जसले गर्दा तत्काल उद्धार टोली परिचालन गर्न सहज हुने विश्वास गरिएको छ।

यसका साथै, नारायणघाटदेखि नागढुङ्गासम्मका लागि ‘लुना जिपिएस’ नामक मोबाइल एप पनि सञ्चालनमा ल्याइएको छ। यो एप डाउनलोड गरी प्रयोगकर्ताले ‘एस‌ओएस’ बटनमार्फत एम्बुलेन्स, बाढीपहिरो, आगलागी वा दुर्घटना जस्ता विकल्प छानेर सीधै तालिम केन्द्रमा जानकारी पठाउन सक्नेछन्।

यो एप अफलाइनमा समेत चलाउन सकिने बताइएको छ। यस प्रविधिले राजमार्गमा हुने विपद्का घटनामा तत्काल उद्धार टोली परिचालन गर्न, मानवीय क्षति न्यूनीकरण गर्न र राहत कार्यलाई प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रकाशित: २० श्रावण २०८२ १६:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App