३१ भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

किसानलाई ५० प्रतिशत अनुदानमा स्याउका कार्टुन

जुम्लामा उत्पादन भएको स्याउ लामो समयदेखि भारतीय र चिनियाँ कार्टुनमा प्याक भएर देशका विभिन्न बजारमा पुग्दै आएको थियो। उत्पादन जुम्लाको भए पनि कार्टुनमा जुम्लाको नाम र पहिचान नहुँदा बजारमा पुग्दा स्थानीय स्याउको ब्रान्ड कमजोर देखिन्थ्यो। अब भने जुम्ली स्याउले आफ्नै कार्टुन पाउन थालेको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई जुम्लाले किसानलाई ५० प्रतिशत अनुदानमा ‘जुम्ली स्याउ’ लेखिएको कार्टुन वितरण थालेको हो।

स्याउको प्याकेजिङ, लेबलिङ तथा पोस्ट हार्भेष्ट क्षति न्यूनीकरण कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको बजेटबाट कार्टुन खरिद गरिएको हो।

स्याउ सुपर जोनले ९ हजार ७ सय ४३ वटा कार्टुन जुम्ला ल्याएको थियो। कार्यालयका निमित्त वरिष्ठ कृषि अधिकृत खेमराज शाहीका अनुसार जुम्ली स्याउको छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले आफ्नै नाम अंकित कार्टुन वितरण गरिएको हो।

‘बाह्य कार्टुनमा स्याउ पठाउँदा जुम्ली स्याउको पहिचान र गुणस्तरमा समस्या आउन सक्ने अवस्था थियो। आफ्नै नाम भएको कार्टुनले जुम्ली स्याउको पहिचान बनाउन सहयोग गर्छ,’ शाहीले भने।

परियोजनाका सूचना अधिकारी पदमराज कार्कीका अनुसार हालसम्म २६ जना किसानलाई ९ हजार ७ सय ४३ कार्टुन वितरण भइसकेको छ। प्रति कार्टुनको मूल्य एक सय रुपैयाँ पर्छ।

किसानले भने ५० प्रतिशत अनुदानपछि ५० रुपैयाँमा कार्टुन पाएका छन्। कृषक समूह, सहकारी, कृषि उद्यमी तथा स्याउ व्यापारीलाई समेत कार्टुन उपलब्ध गराइएको छ।

किसानले न्यूनतम तीन सयदेखि ६ सयभन्दा बढी कार्टुनसम्म लगेका छन्। एउटा कार्टुनमा १० देखि १२ किलोसम्म स्याउ अट्नेछ। 

व्यवस्थित प्याकेजिङले ढुवानीका क्रममा हुने क्षति घटाउने र बजारमा जुम्ली स्याउलाई छुट्टै ब्रान्डका रूपमा स्थापित गर्न सहयोग पुग्ने परियोजनाको अपेक्षा छ।

जुम्लाको पातारासी गाउँपालिका–७ स्थित संयुक्त कृषि तथा पशुपालन फर्मकी लक्ष्मी रोकायाले पाँच सय कार्टुन लिएकी छन्। आफ्नै उत्पादन आफ्नै नाम लेखिएको कार्टुनमा बजार पठाउन पाउँदा उनी उत्साहित छन्।

‘जुम्ली स्याउको आफ्नै कार्टुन हुनु किसानका लागि खुसीको कुरा हो। अब हाम्रो उत्पादन बजारमा जुम्ली स्याउ भनेर चिनिन सहयोग पुग्छ,’ रोकायाले भनिन्।

कार्टुन लिन किसानले अघिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, प्यान दर्ता प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि तथा उद्योग दर्ता प्रमाणपत्र पेस गर्नुपर्नेछ।

१० रुपैयाँको टिकट टाँसेको निवेदनमा कार्टुनको माग संख्या खुलाउनुपर्ने व्यवस्था छ। परियोजनाका अनुसार हिमा, तिला, तातोपानी, चन्दननाथ नगरपालिका, कनकासुन्दरी र पातारासीका किसानले कार्टुन लिएका छन्।

कार्टुन खरिदमा ९ लाख ७४ हजार ३ सय रुपैयाँ खर्च भएको कार्यालयले जनाएको छ। त्यसको ५० प्रतिशत अर्थात् ४ लाख ८७ हजार १ सय ५० रुपैयाँ अनुदान सरकारले व्यहोरेको छ। जुम्लामा स्याउको प्याकेजिङ सुधारका लागि कृषि विकास कार्यालयले पनि अनुदानमा कार्टुन वितरण गरिरहेको छ।

कार्यालयका सूचना अधिकारी दीपकसिंह धामीका अनुसार अहिलेसम्म ८ हजार कार्टुन वितरण भइसकेको छ। कार्यालयका अनुसार १३ हजार कार्टुन जुम्ला पुगिसकेको छ भने थप १२ हजार कार्टुन बाटोमा छन्। ती कार्टुन केही दिनभित्र जुम्ला आइपुग्नेछन्।

‘हामीले २५ हजार कार्टुन ल्याउने हो। १३ हजार जुम्ला आइसकेको छ, १२ हजार बाटोमा छ,’ धामीले भने। स्याउ उत्पादन र बजार विस्तारसँगै जुम्लामा प्याकेजिङ, लेबलिङ र ब्रान्डिङको समस्या लामो समयदेखि देखिँदै आएको थियो।

जुम्लामै उत्पादन भएको स्याउ अन्यत्रका कार्टुनमा बजार पुग्दा उत्पादनको भौगोलिक पहिचान ओझेलमा पर्ने गरेको किसान बताउँछन्।

सरकारी निकायले अनुदानमा ‘जुम्ली स्याउ’ लेखिएको कार्टुन उपलब्ध गराउन थालेसँगै अब स्याउको उत्पादनसँगै त्यसको पहिचान पनि बजारसम्म पुग्ने अपेक्षा गरिएको छ।

यता जिल्ला कृषि विकास कार्यालयका अनुसार जुम्लाका २४ हजार ४ सय ३८ घरधुरीमध्ये १९ हजार १ सय ५० घरधुरी व्यावसायिक स्याउखेतीमा संलग्न छन्। स्याउको बिक्री, वितरण र व्यापारमा ६ सय ३ कृषक प्रत्यक्ष रूपमा आबद्ध छन्।

जिल्लाभर ४ हजार ४ सय ९७ हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ। तथ्यांकले जुम्लामा स्याउ खेतीको क्षेत्रफल निरन्तर बढिरहेको देखाउँछ।

गत वर्ष ४ हजार ३ सय ७७ हेक्टरमा रहेको खेती यस वर्ष बढेर ४ हजार ४ सय ९७ हेक्टर पुगेको छ। फल लागेको क्षेत्र पनि २ हजार ३९ हेक्टरबाट बढेर २ हजार १ सय ६५ हेक्टर पुगेको छ।

जुम्लाका आठ वटै स्थानीय तहका ६० वडामा स्याउ खेती भइरहेको छ। जुम्लाले चालु आर्थिक वर्ष २०८३/०८४ मा ७० करोड बराबरको स्याउ निर्यात गर्ने लक्ष्य राखेको छ।

कृषि विकास कार्यालय जुम्लाका अनुसार गत आर्थिक वर्ष २०८२/०८३ मा जुम्लाले ४१ करोड २० लाख ८९ हजार बराबरको स्याउ निर्यात गरेको थियो।

गत वर्ष १८ हजार २ सय ४५ मेट्रिक टन अर्थात् एक लाख ८२ हजार ४ सय ५० क्विन्टल स्याउ उत्पादन हुँदा जुम्लाले ५५ हजार ९ सय १० क्विन्टल मात्र स्याउ निर्यात गरेको प्रमुख रामभक्त अधिकारी बताउँछन्।

क्षेत्रफलका हिसाबले गत आर्थिक वर्ष २०८२/०८३ मा चार हजार ४ सय ९७ हेक्टर मध्ये अहिले १ सय ७ दशमलव ५३ हेक्टर जमिन थप भई चार हजार ६ सय ४ दशमलव ५३ हेक्टर क्षेत्रफलमा स्याउ फलिरहेको उनको भनाई छ। 

प्रकाशित: ३० भाद्र २०८३ १४:२२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App