कोशी प्रदेश सरकारले लागू औषधको बढ्दो दुर्व्यसनी नियन्त्रणका लागि ‘महाअभियान’को सुरुवात गरेको छ। लागू औषध दुर्व्यसनलाई व्यक्ति मात्र नभएर समाज र राष्ट्रकै विकासको मुख्य बाधक ठहर गर्दै प्रदेश सरकारले यसलाई नियन्त्रण गर्न लागि ‘लागू औषध दुर्व्यसनविरुद्धको महाअभियान’ को सुरुवात गरेको हो।
कोशी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालय, विराटनगर महानगरपालिका र जिल्ला प्रहरी कार्यालय मोरङद्वारा आयोजित ‘लागू औषध दुर्व्यसनविरुद्धको महाअभियान’को शुभारम्भ गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकारले यस क्षेत्रमा आवश्यक सबै सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे। उनले कोभिड १९ को समयमा निर्माण गरिएका संरचनालाई अब लागू औषध नियन्त्रणमा उपयोग गरिने नयाँ योजना बताए।
मुख्यमन्त्री कार्कीले भने, ‘विराटनगरको रानी र झापाको काँकडभिट्टामा रहेका ‘होल्डिङ सेन्टर’लाई व्यवस्थित सुधार गृहका रूपमा विकास गरिने छ। यी केन्द्रहरूलाई जिल्ला प्रशासन कार्यालय मातहत सञ्चालन गरी दुर्व्यसनमा फसेका युवाहरूको पुनर्स्थापनामा प्रयोग गरिने छ।’
उनले सुनसरीको धरानमा प्रहरीले सञ्चालन गरेको ‘आसरा’ जस्तै गरी झापा र मोरङमा सञ्चालन गर्नका लागि गृह मन्त्रालय, नेपाल प्रहरीले विशेष सहयोग गर्नुपर्ने बताए।
मुख्यमन्त्री कार्कीले लागू औषधविरुद्धको लडाइँ प्रहरीको मात्र नभएर प्रत्येक घर, विद्यालय र समुदायको साझा दायित्व भएकोमा जोड दिए। उनले भने, ‘जबसम्म हरेक परिवार सचेत हुँदैनन्, तबसम्म यो समस्या समाधान हुँदैन। यो समाजको विकृति र परिवार विघटनको मुख्य कारक हो। यो साझा अभियान प्रत्येक घर, विद्यालय, उद्योग र समुदायमा सञ्चालन गर्नु पर्छ।’
आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले युवाहरूलाई क्षणिक स्वतन्त्रताको भ्रममा परेर जीवन नष्ट नगर्न अपिल गरे। उनले प्रदेश सरकार लागू औषध दुर्व्यसनविरुद्ध सचेतनामूलक कार्यक्रम गर्दै आएको बताए।
त्यस्तै, विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले सीमा क्षेत्रमा हुने ओसारपसार नियन्त्रण गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताए। प्रतिनिधिसभा सदस्य सन्तोष राजवंशी, मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, गृह मन्त्रालयका सहसचिव सुमन घिमिरे लगायतले भौतिक पूर्वाधारको विकाससँगै मानवीय र सामाजिक विकासका लागि दुर्व्यसनमुक्त समाज निर्माण गर्न एकढिक्का हुनुपर्नेमा जोड दिए।
नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले लागू औषधको अवैध कारोबार र सीमा पार तस्करीमा संलग्नहरूविरुद्ध प्रहरीले ‘जिरो टोलरेन्स’ (शून्य सहनशीलता) को नीति अपनाउने चेतावनी दिए। उनले युवा शक्तिलाई देश निर्माणमा जुट्न आग्रह गर्दै अपराधीहरूलाई कानुनी दायरामा ल्याउन कुनै कसर बाँकी नराखिने बताए। उनले युवा जागेमा समाज र राष्ट्र बन्ने हुनाले लागू औषध नियन्त्रणमा सक्रिय रूपमा लाग्न आग्रह गरे।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक विनोद घिमिरे र मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले सुरक्षा निकायको सक्रियता र समुदायको सहकार्यबाट मात्र यो महाअभियान सफल हुने विश्वास व्यक्त गरे।
कार्यक्रममा सार्वजनिक गरिएको प्रदेशगत विवरणले कोशी प्रदेशमा लागू औषधको अवस्था चिन्ताजनक देखाएको छ। आर्थिक वर्ष २०८१/८२ को हालसम्मको अवधिमा मात्रै प्रदेशमा १ हजार ४ सय ३७ वटा लागू औषधसम्बन्धी मुद्दा दर्ता भएका छन् भने २ हजार २ सय ३ जना पक्राउ परिसकेका छन्।
प्रकाशित: १० जेष्ठ २०८३ २०:१२ आइतबार




