२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

नेपाली पहिचानको पुस्तान्तरण गर्न हङकङमा एएनओ गठन

मध्यपूर्वका मुलुकमा कार्यरत नेपालीहरूको सुरक्षाप्रति नेपाल सरकारको ध्यानाकर्षण गराउँदै एशोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) को हङकङ सम्मेलन सम्पन्न भएको छ।

सम्मेलनमार्फत स्थानीय युवा व्यवसायी विक्की थापाको अध्यक्षतामा नयाँ हङकङ कमिटी घोषणा गरिएको छ।

हङकङ सरकारकी डिस्ट्रिक काउन्सिलर अरुणा गुरुङ र एएनओका अन्तर्राष्ट्रिय कमिटी महासचिव चूडामणि भट्टराईले शनिबार साँझ संयुक्त रूपमा सम्मेलनको उद्घाटन गरे।

विश्वका जुनसुकै कुनामा जन्मे पनि र जुनसुकै देशको नागरिकता बोके पनि नेपाली मूलको पहिचान गरी आपसी एकता कायम गर्ने र नेपाली जातिको शक्तिलाई नेपालको हितमा प्रयोग गर्नुपर्ने प्रस्ताव सम्मेलनले पारित गरेको छ।

एएनओकी केन्द्रीय सदस्य खुसी गुरुङको सभापतित्वमा सम्पन्न सम्मेलनले हाल विश्वमा देखापरिरहेको सुरक्षा चुनौतीका सन्दर्भमा मध्यपूर्वमा बसोबास गरिरहेका नेपालीको सुरक्षामा विशेष ध्यान पुर्‍याई उचित कदम चाल्न नेपाल सरकारलाई आग्रह गरेको छ।

एएनओका अन्तर्राष्ट्रिय कमिटी महासचिव भट्टराईले संसारभरका नेपालीलाई एकआपसमा जोड्ने अभियानका रूपमा संस्था अगाडि बढेको बताएका छन्।

‘पुर्खाको अदम्य साहस प्रतिविम्बित हुने हङकङका नेपालीको गौरवपूर्ण इतिहासले नेपाली जातिका बीच उल्लेखनीय स्थान ओगटेको छ।’ उनले भने।

नेपाली जातिलाई मातृभूमि र पितृभूमि नेपालसँग जोड्न हङकङको नेपाली समुदायले थप योगदान दिने विश्वास उनले व्यक्त गरेका छन्।

नेपाली जातिको आफ्नै पहिचान र अस्तित्वसहितको जीवनयापनका लागि अमेरिका निवासी समाजसेवी डिल्ली अधिकारीको नेतृत्वमा सन् २०२४ मा एएनओको स्थापना भएको हो।

संस्थाको हङकङ अधिवेशनले जतिसुकै पुस्ता बाहिर बस्नुपरे पनि आफू रहेको ठाउँमै नेपाली भाषा, कला, संस्कृति, रीतिरिवाज र नेपाली पहिचानको निरन्तरता तथा पुस्तान्तरणको अभियानमा क्रियाशील रहने घोषणा गरेको छ।

प्रकाशित: २४ फाल्गुन २०८२ १७:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App