४ भाद्र २०८३ बिहीबार
image/svg+xml
समाज

‘...र म फेरि नेपाल छाड्न बाध्य भएँ’

चितवनको भरतपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा सिर्जित १८ करोड ४३ लाख रुपैयाँको ऋणभार र राज्य संयन्त्रको उदासीनतापछि हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ पुनः मातृभूमि छाडेर विदेशिएका छन्।

दुई महिनाअघि राज्यबाट न्याय पाउने र आफ्नै माटोमा काम गर्ने आशा बोकेर छोरीसहित नेपाल फर्किएका उनी अन्ततः निराश हुँदै अमेरिका प्रस्थान गरेका हुन्।

देश छाड्नुअघि सामाजिक सञ्जालमा भावुक अभिव्यक्ति सार्वजनिक गर्दै कट्टेलले आफ्ना अधुरा सपना, काँधमा थोपरिएको ऋणको भारी र राज्यको बेवास्ताका कारण उत्पन्न पीडा पोखेका छन्।

‘यो पटक त सय प्रतिशत हामीले न्याय पाउनेछौं, आफ्नै माटोमा दुःख-सुख साट्नेछौं र पहिलेजस्तै फेरि हजुरहरूलाई हँसाउनेछौं भन्ने ठूलो सपना बोकेर छोरीसहित मातृभूमि फर्किएको थिएँ,’ कट्टेलले लेखेका छन्, ‘दुई महिना अथक प्रयास गरेँ। राज्यका ढोका-ढोका पुगेँ। न्यायको आशामा राज्यलाई गुहारेँ। तर न राज्यले मेरो आवाज सुन्यो, न त आफ्नो पीडा मन खोलेर सुनाउने अवसर नै पाएँ।’

उनले रंगशालाको ऋण दायित्व फर्स्योटका लागि संघीय सरकारबाट निकासा भएको भनिएको १५ करोड रुपैयाँ बजेटसमेत भरतपुर महानगरपालिकाबाट नीतिगत अल्झनका कारण फ्रिज हुने अवस्थामा पुगेको गुनासो गरेका छन्।

‘समस्या समाधान हुने त कुरै भएन, उल्टै १५ करोड विनियोजित बजेटसमेत भरतपुर महानगरपालिकाबाट फ्रिज हुने अवस्था आयो,’ उनले भनेका छन्, ‘१८ करोड ४३ लाखको भारी, अधुरा सपना र मनभरिको पीडा बोकेर आफ्नै मातृभूमिबाट फेरि फर्किन बाध्य भएको छु।’

२०७२ सालको विनाशकारी भूकम्पपछि काभ्रे, सिन्धुपाल्चोक, महोत्तरी र रौतहटमा नमुना एकीकृत बस्ती निर्माण गरी नागरिकस्तरबाट प्रशंसा बटुलेका कट्टेलले आफ्नो जीवनको उर्वर एक दशक समाजसेवामा समर्पण गरेको स्मरण गरेका छन्।

‘आफ्नै देशमा न्याय खोज्दा आफ्नै आवाज बेवारिसे भएको अनुभूति भएको छ,’ उनले लेखेका छन्, ‘देशमा इमानदारीका साथ केही गराैं, आफ्नै माटोलाई केही दिऔं भन्ने सपना देख्नेहरूको नियति सायद यस्तै हुँदो रहेछ। १० वर्ष आफ्नो उर्वर समय समाज र राष्ट्रका लागि समर्पण गर्दा राज्यबाट पाएको प्रोत्साहन सायद यही होला।’

आँखा रसाएर र भारी मन लिएर देश छोड्नुपरे पनि भविष्यप्रति उनले अझै झिनो आशा व्यक्त गरेका छन्। ‘कुनै दिन राज्यले सम्झिनेछ, समयले सत्य बोल्नेछ, हाम्रो पीडा सुनिनेछ,’ उनले भनेका छन्, ‘त्यो दिन हाम्रो संघर्षको मूल्य बुझिनेछ, अनि मात्र हामीभित्रको देशभक्ति भावनाको कदर हुनेछ। र त्यो दिन आफ्नै देशमा न्याय खोज्नेहरूको आवाज दबिनुपर्ने छैन। त्यही दिनको पर्खाइमा हामी रहनेछौं।’

धुर्मुस-सुन्तली फाउन्डेसनले २०७५ माघ १६ गते भरतपुर महानगरपालिकासँग सम्झौता गरी जनस्तरको सहयोगबाट अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेको थियो। तर, निर्माणकै क्रममा कोभिड-१९ महामारी फैलिएपछि आर्थिक स्रोत संकलन ठप्प भयो।

काम रोकिएपछि निर्माण सामग्री उपलब्ध गराउने स्थानीय आपूर्तिकर्ता, हार्डवेयर व्यवसायी र कामदारहरूको करिब १८ करोड ४३ लाख रुपैयाँ भुक्तानी बाँकी रह्यो। फाउन्डेसनले आर्थिक रूपमा परियोजना अगाडि बढाउन असमर्थ भएको भन्दै २०७८ सालमै स्वामित्व ग्रहण गरिदिन भरतपुर महानगरपालिकालाई लिखित पत्र बुझाएको थियो।

त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (पुल्चोक क्याम्पस) ले गरेको प्राविधिक तथा वित्तीय मूल्याङ्कनले फाउन्डेसनले रंगशालामा करिब ५७ करोड ९२ लाख रुपैयाँ बराबरको काम गरेको र त्यसमध्ये १८ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको पुष्टि गरेको थियो।

लामो समय अलपत्र परेपछि संघीय सरकार र बागमती प्रदेश सरकारको साझेदारीमा भरतपुर महानगरपालिकाले हाल रंगशालाको बाँकी निर्माण कार्य ठेक्कामार्फत अगाडि बढाएको थियो।

तर, विगतमा फाउन्डेसनले सिर्जना गरेको भौतिक संरचनाको स्वामित्व राज्यले लिए पनि सोही निर्माणमा लागेको ऋण र बक्यौता रकम फर्स्योट गर्ने विषय भने कानुनी र प्रशासनिक जटिलतामा फस्यो।

संघीय सरकारले ऋण दायित्व सम्बोधन गर्न १५ करोड रुपैयाँ निकासा गर्ने निर्णय गरे तापनि सार्वजनिक खरिद ऐन, लेखापरीक्षण विधि तथा भ्याट बिलका प्राविधिक कारण देखाउँदै भरतपुर महानगरपालिकाले उक्त रकम फाउन्डेसनलाई हस्तान्तरण गर्न सकेको छैन।

यता, ऋणदाताहरूले दैनिकजसो फाउन्डेसन र कट्टेलमाथि चर्को मानसिक र आर्थिक दबाब दिँदै आएका छन्। ऋणको यही चपेटा, प्रशासनिक ढिलासुस्ती र दैनिक सिंहदरबार तथा महानगरपालिका धाउँदा पनि कुनै निकास ननिस्किएपछि कट्टेल शारीरिक तथा मानसिक रूपमा थकित बनेका थिए।

प्रकाशित: ४ भाद्र २०८३ २०:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App