१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
समाज

जुम्लामा एम्बुलेन्सको भाडादर निर्धारण

कर्णाली क्षेत्रको दुर्गम जिल्ला जुम्लामा एम्बुलेन्स सेवाको पहुँच विस्तार हुँदै गएको छ। हाल जिल्लाभर १७ वटा एम्बुलेन्स र एक वटा शवबहान सञ्चालनमा रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र जिल्लाका आठवटै स्थानीय तहअन्तर्गत सञ्चालनमा रहेका एम्बुलेन्सको अवस्था, संख्या र सञ्चालन प्रणालीलाई व्यवस्थित गर्न जिल्ला एम्बुलेन्स समितिले भाडादरसमेत निर्धारण गरेको हो।

प्रमुख जिल्ला अधिकारी दीपक पौडेलको संयोजकत्वमा बिहीबार बसेको जिल्ला एम्बुलेन्स समितिको बैठकले एम्बुलेन्सको तथ्याङ्क संकलन गर्नुका साथै सेवा शुल्क एकरूप बनाउने निर्णय गरेको छ। समितिको निर्णयअनुसार अब जिल्लाभर एम्बुलेन्स सेवाको भाडादर निश्चित मापदण्डका आधारमा लागू हुनेछ।

No description available.

सार्वजनिक विवरणअनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा तीन वटा एम्बुलेन्स सञ्चालनमा छन्। गुठीचौर गाउँपालिकामा एक, पातारासी गाउँपालिकामा दुई, तातोपानी गाउँपालिकामा एक, तिला गाउँपालिकामा एक, सिंजा गाउँपालिकामा दुई, कनकासुन्दरी गाउँपालिकामा दुई र हिमा गाउँपालिकामा चार वटा एम्बुलेन्स सञ्चालनमा रहेका छन्। चन्दननाथ नगरपालिकामा भने एक वटा एम्बुलेन्ससँगै एक वटा शवबहान सञ्चालनमा छ।

यसअघि जिल्लामा एम्बुलेन्स भाडादर स्पष्ट नहुँदा दूरी, सडक अवस्था र समयअनुसार फरक–फरक शुल्क तिर्नुपर्ने गुनासो सेवाग्राहीबाट उठ्दै आएको थियो। सोही गुनासोलाई सम्बोधन गर्न जिल्ला एम्बुलेन्स समितिले भाडादर निर्धारण गरेको जनस्वास्थ्य कार्यालय जुम्लाले जनाएको छ।

नयाँ निर्णयअनुसार चन्दननाथ नगरपालिका क्षेत्रभित्र एम्बुलेन्स सेवा लिँदा ६ सय रुपैयाँ भाडा लाग्नेछ। नगरपालिका बाहिर जिल्लाभित्र यात्रा गर्दा कच्ची सडकमा प्रतिकिलोमिटर १ सय रुपैयाँ र पक्की (पीच) सडकमा प्रतिकिलोमिटर ९० रुपैयाँ भाडादर तोकिएको छ।

जिल्ला बाहिर रिफर गरिने बिरामीका लागि पनि निश्चित दर कायम गरिएको छ। जुम्लाका कुनै पनि स्थानबाट सुर्खेतसम्म एम्बुलेन्स सेवा लिँदा दुईतर्फी २० हजार रुपैयाँ र नेपालगञ्जसम्म दुईतर्फी २५ हजार रुपैयाँ भाडा लाग्नेछ।

भाडादर स्पष्ट भएसँगै सेवाग्राहीलाई राहत पुग्ने र मनपरी शुल्क लिने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ। यसले एम्बुलेन्स सञ्चालनलाई पारदर्शी र व्यवस्थित बनाउने जनस्वास्थ्य कार्यालयको विश्वास छ।

जिल्ला प्रशासन कार्यालयका अनुसार एम्बुलेन्स सञ्चालनलाई अझ प्रभावकारी बनाउन नियमित अनुगमन गरिनेछ। आपत्कालीन अवस्थामा एम्बुलेन्स समयमै परिचालन हुने व्यवस्था मिलाउन स्थानीय तह, स्वास्थ्य संस्था र सुरक्षानिकायबीच समन्वयलाई सुदृढ बनाइने योजना छ।

दुर्गम भौगोलिक बनावट, कमजोर सडक सञ्जाल र सीमित स्वास्थ्य सेवाका कारण जुम्लामा एम्बुलेन्स सेवा नागरिकका लागि जीवनरक्षाको प्रमुख आधार मानिन्छ। नयाँ भाडादर कार्यान्वयनसँगै एम्बुलेन्स सेवामा पहुँच र विश्वास बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित: २७ पुस २०८२ १८:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App