३ चैत्र २०८२ मंगलबार
image/svg+xml
समाज

प्रज्ञा प्रतिष्ठानका ११ आजीवन सदस्यको भत्ता अब बन्द

प्रज्ञा प्रतिष्ठानका ११ आजीवन सदस्यको भत्ता अब बन्द भएको छ । सर्वोच्च अदालतको आदेशसँगै नेपाल प्रज्ञाप्रतिष्ठानबाट आजीवन निर्वाह भत्ता लिँदै आएका ११ जना आजीवन प्राज्ञ सदस्यको यो सुविधा अब रोकिने भएको हो ।  

प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ फागुन ११ गते बसेको प्राज्ञ परिषद् बैठकले आजीवन सदस्यलाई दिइँदै आएको दोहोरो सुविधा रोक्ने निर्णय गरेको थियो। सोही निर्णयविरुद्ध दोहोरो सुविधा लिँदै आएका सदस्‍यले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

रिट दायरपछि कार्यान्वयनमा नआएको निर्णय चैत १ गते मनोजकुमार शर्मा र नृपदध्वज निरौलाको संयुक्त इजलासले रिट निवेदन खारेज गरेपछि प्रतिष्ठानको निर्णयले कानुनी मान्यता पाएको हो।  

प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीका अनुसार अब अदालतको आदेशअनुसार विगतको निर्णय पूर्ण रूपमा कार्यान्वयनमा आउनेछ ।

योसँगै अब दोहोरो भत्ता नपाउनेमा प्रा.डा. वासुदेव त्रिपाठी, प्राडा चूडामणि बन्धु रेग्मी, गङ्गाप्रसाद उप्रेती, प्राडा योगेन्द्रप्रसाद यादव, तीर्थबहादुर श्रेष्ठ, आरडी ‘प्रभास’ (राजेश्वरीदत्त चटौत), अशेषकुमार मल्ल, डा. धुवचन्द्र गौतम, तोया गुरुङ, तुलसीप्रसाद जोशी (तुलसी दिवस) र शशिविक्रम शाह छन्।

यसअघि सरकारी सेवा वा निवृत्तिभरण लिइरहेका आजीवन सदस्यलाई प्रज्ञा प्रतिष्ठानबाट थप भत्ता दिन नहुने निर्णय गरिएको थियो। तर सम्बन्धित सदस्यहरूले आफ्नो प्राज्ञिक योगदानका आधारमा प्राप्त सम्मानवृत्तिलाई पारिश्रमिक वा दोहोरो सुविधा मान्न नमिल्ने तर्क गर्दै आएका थिए।

सर्वोच्चको पछिल्लो फैसलासँगै आजीवन सदस्यलाई दिइने दोहोरो सुविधा अन्त्य भएको छ।

प्रकाशित: ३ चैत्र २०८२ १६:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App