३० भाद्र २०८३ मंगलबार
image/svg+xml
समाज

'द्वन्द्व, हिंसा र विपद्‍बाट बालबालिकालाई संरक्षण गर्न तीनै तहका सरकार संवेदनशील हुनुपर्छ'

सशस्त्र द्वन्द्व, जेनजी प्रदर्शन, विपद् तथा विभिन्न आन्दोलनका क्रममा प्रभावित बालबालिकाको संरक्षणका लागि पूर्वतयारी र प्रभावकारी बाल संरक्षण प्रणाली निर्माण गर्न सरोकारवालाले जोड दिएका छन्।

बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)को आयोजनामा ६२औँ राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शान्ति बालबालिका पार्क, सिनामंगलमा दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सशस्त्र द्वन्द्व, जेनजी प्रदर्शन, विपद् तथा विभिन्न आन्दोलनका क्रममा मृत्यु भएका बालबालिका तथा किशोरकिशोरीको सम्झनामा दीप प्रज्वलन गरिएको थियो।

कार्यक्रममा सिजपका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिकाको सुरक्षाका विषयमा तीनै तहका सरकार संवेदनशील हुनुपर्ने बताए। जस्तोसुकै द्वन्द्व, हिंसा, आन्दोलन वा विपद्‍बाट सबैभन्दा बढी प्रभावित हुने वर्ग बालबालिका भएकाले उनीहरूको सुरक्षामा पर्याप्त लगानी र पूर्वतयारी हुन नसकेको उनले बताए।

घटना भएपछि मात्र उद्धार र राहतमा केन्द्रित हुनेभन्दा घटना हुनुअघि नै जोखिम न्यूनीकरण र रोकथामका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा पौडेलले जोड दिए।

कार्यक्रममा भोटेकोशी बाढीमा अभिभावक बेपत्ता भएका बालबालिका तथा आफ्ना सन्तानको पर्खाइमा रहेका अभिभावकको अवस्थालाई राज्यले सम्बोधन गर्नुपर्नेमा सहभागीहरूले जोड दिए। विपद्का समयमा बालविवाह, बालश्रम र बालबालिका बेचबिखनको जोखिम बढ्न सक्ने भन्दै गर्भवती, सुत्केरी तथा अपाङ्गता भएका बालबालिकाको संरक्षण अझ जटिल हुने उनीहरूले बताए।

वक्ताहरूले बेपत्ता बालबालिकाको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन, बाल संरक्षण प्रणालीलाई व्यवस्थित गर्न र विपद् प्रभावित क्षेत्रमा बालबालिका, अभिभावक, शिक्षक तथा जनप्रतिनिधिलाई प्रभावकारी मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउनुपर्ने माग गरे।

त्यस्तै, विपद् प्रभावित बालबालिकाको शिक्षा निरन्तरता सुनिश्चित गर्न भौतिक पूर्वाधार निर्माण तथा वैकल्पिक व्यवस्था गर्न, बालबालिका शान्ति पार्कको पुनर्निर्माण गर्न र तीनै तहका सरकारबीच प्रभावकारी समन्वय गरी विपद् तथा विभिन्न कठिन परिस्थितिमा परेका बालबालिकाका लागि साझा कार्यक्रम सञ्चालन गर्नुपर्नेमा सहभागीहरूले जोड दिए।

बालबालिकाको अधिकार संरक्षण र प्रवर्द्धनका लागि उच्चस्तरीय संयन्त्र वा राष्ट्रिय बाल अधिकार आयोग गठन गरी प्रभावकारी रूपमा काम गर्नुपर्ने तथा जलवायु परिवर्तनबाट बालबालिकामा परेको असरलाई सम्बोधन गर्दै क्षतिपूर्तिको विषय उठाउनुपर्नेमा समेत उनीहरूले जोड दिए।

कार्यक्रममा ज्ञानकुञ्ज बाल क्लबकी पूर्वउपाध्यक्ष आयुषा पाण्डे, राष्ट्रिय बाल पैरवी परिषद्का कृष्ण शाह, एटविन तथा बालबालिकाको क्षेत्रमा क्रियाशील सञ्जालहरूको तर्फबाट बेनुमाया गुरुङ, सिविनका कुमार भट्टराई, गैरसरकारी संस्था महासंघका उपमहासचिव किरण थापा, राष्ट्रिय बाल अधिकार परिषद्का श्रीराम अधिकारी तथा सिजपका राजु घिमिरेलगायतले राष्ट्रिय बाल दिवस र बालबालिकाका सवालबारे धारणा राखेका थिए।

कार्यक्रममा बालबालिकाको क्षेत्रमा क्रियाशील नागरिक संघसंस्था तथा सञ्जालका प्रतिनिधिसहित करिब ६० जनाको सहभागिता थियो।

प्रत्येक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवसका अवसरमा बालबालिका शान्ति पार्कमा दीप प्रज्वलन गर्ने प्रचलन रहँदै आएको छ।

प्रकाशित: ३० भाद्र २०८३ ०६:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App