१० भाद्र २०८३ बुधबार
image/svg+xml
समाज

गिरीलालको शून्यता: परिवारका पाँचै जना आँखा अगाडि बगे, आफू कान्लो समातेर बाँचे

त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्षको बेड नम्बरमा पल्टिरहेका ३६ वर्षीय गिरीलाल बुढाथोकीको आँखा अस्पतालको सेतो सिलिङमा एकटक अडिएको छ।

शरीरभरि गहिरा र नीला डामहरू छन्। टाउको र ढाडमा सेतो पट्टि बेरिएको छ, अनुहारभरि चोटपटक र सुकिसकेका रगतका छिटा प्रस्ट देखिन्छन्।

छेउमा कोही आफन्त वा स्वास्थ्यकर्मी पुगेर सोधपुछ गर्दा उनी ओछ्यानबाट जुरुक्क उठ्ने कोसिस गर्छन्। तर, शरीरको असह्य दुखाइभन्दा पनि उनको मनभित्र चर्किएको बज्रपातले उनलाई फेरि बेडमै थचक्क पारिदिन्छ।

बुधबार बिहान रसुवाको टिमुरेमा आएको भोटेकोशीको विनाशकारी बाढीबाट भाग्ने क्रममा गम्भीर घाइते भएका गिरीलाललाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरेर दिउँसो काठमाडौं ल्याइएको हो। गिरीलालको शरीर त बाँच्यो, तर उनको श्रीमती र चार छोराछोरी एकै चिहान भयो।

सल्यान घर भई विगत लामो समयदेखि रसुवाको सीमावर्ती टिमुरे बजारमा मजदुरी गर्दै आएका गिरीलाल परिवारका तीन दाजुभाइमध्ये माइला हुन्।

उनको बस्ती भोटेकोशी नदीको सामान्य सतहभन्दा झन्डै ३०० मिटर माथि थियो। नदीबाट यति धेरै उचाइमा रहेको आफ्नो थातथलोमा उर्लिएको भेल पसेर जीवन नै सखाप पार्ला भन्ने उनले कहिल्यै कल्पनै गरेका थिएनन्।

बुधबार बिहान टिमुरेमा पारिलो घाम लागेको थियो। सीमावर्ती बजारमा दैनिक चहलपहल सुरु भइसकेको थियो। बिहान करिब ८ बजेको समयमा गिरीलाल कोठाको फोहोर बाहिर फालेर भर्खरै भित्र पसेका थिए। अचानक बाहिर ठूलो गर्जन सुनियो।

‘आँखाअगाडि सेतो कुहिरोको मुस्लो जस्तो पानीको भयानक मुल्को उर्लिएर आयो,’ अस्पतालको बेडबाट गिरीलालले त्यो भयानक क्षण सम्झिए, ‘केही सोच्नै पाइएन। क्षणभरमै घरभित्र बाढी पस्यो।’

बाढीको भेल घरभित्र पसेपछि गिरीलाल र नातामा उनका एक जना ज्वाइँ पर्ने व्यक्ति ज्यान जोगाउन घरको छतमा पुगे। त्यहाँबाट बाहिर हामफाल्ने क्रममा उनका ज्वाइँलाई उर्लंदो भेलले आँखाअगाडि नै बगाएर लग्यो।

गिरीलाल भने छतबाट हामफालेर नजिकैको भित्तामा पुग्न सफल भए। तर, भत्किएको घरको भग्नावशेषले उनलाई भित्तामै चेप्यो।

उनी भित्ताको एउटा रुखको हाँगा समातेर ज्यान जोगाउने अन्तिम संघर्षमा जुटिरहे। त्यतिञ्जेल उनको टाउको र ढाडमा गम्भीर चोट लागिसकेको थियो। केही सेकेन्डमै उनी उभिएको जमिन भासियो।

तर, भाग्यवश उनले माथिल्लो कान्लो समातेर आफूलाई माथितिर घिसार्न सफल भए। जब उनी माथि सुरक्षित ठाउँमा पुगेर पछाडि फर्किए, त्यहाँ न उनको घर थियो, न त परिवारका कुनै सदस्य नै बाँकी थिए।

बाढीले उनका १३ र १५ वर्षका दुई छोरा, १५ र १८ वर्षका दुई छोरी तथा ३५ वर्षीया श्रीमतीलाई क्षणभरमै निलिसकेको थियो।

घटना हुनुभन्दा करिब आधा घण्टाअघि मात्रै गिरीलालले आफ्ना जेठा दाजु यमलाल बुढाथोकीलाई फोन गरेका थिए। यमलाल आफ्नो उपचारका लागि सल्यानबाट काठमाडौं आएका थिए। फोनमा गिरीलालले दाइको स्वास्थ्य अवस्था सोधेका थिए र भनेका थिए, ‘दाइ, म पनि तपाईंलाई भेट्न काठमाडौं आउँछु।’

तर, त्यो कुराकानी भएको आधा घण्टा बित्न नपाउँदै गिरीलालको फेरि फोन आयो। फोनमा गिरीलालको आवाज कामिरहेको थियो। रुँदै उनले भनेका थिए, ‘दाइ, हाम्रो त सबै सकियो... बाढी आएर घरसँगै सबैलाई बगायो।’

त्यसपछि फोन सम्पर्क टुट्यो। यमलाल भाइको खबर सुनेर स्तब्ध भए। दिउँसो घाइते भाइलाई हेलिकप्टरबाट टिचिङ अस्पताल ल्याइएको खबर पाएपछि उनी दौडिँदै अस्पताल पुगे। अहिले यमलाल भाइको कुरुवा बसेर हेरचाह गरिरहेका छन्।

यमलालका अनुसार बुवाको निधन हुँदा गत वर्षको साउनमा माइला भाइ गिरीलालसँग सल्यानमा भेट भएको थियो। त्यसपछि फोनमा मात्रै कुरा हुन्थ्यो। ‘केही दिनअघि मात्रै कान्छी भतिजीसँग फोनमा कुरा भएको थियो। उसले ‘ठूलोबुबा, म यसपालिको दसैंमा घर आउँछु’ भनेकी थिई,’ यमलालले आँखाभरि आँसु पार्दै भने, ‘दसैंमा आउँछु भन्ने मेरी छोरी अब कहिल्यै नफर्किने गरी गई। भगवान्ले पनि कस्तो बज्रपात पारेको !’

यमलालका अनुसार टिमुरेको उक्त बस्तीमा करिब दुई सय घरधुरी थिए। तर, बुधबारको भीषण बाढीपछि त्यहाँका मुस्किलले २०/३० जना मात्र जीवित बचेका छन्।

टिचिङ अस्पतालको आकस्मिक कक्षमा गिरीलालसँगै टिमुरेकै कर्म श्रेष्ठ पनि उपचाररत छिन्। उनी पनि आफ्ना आमाबुबालाई बाढीले बगाएपछि भागेर बाँच्न सफल भएकी हुन्।

कर्म श्रेष्ठ।

आफ्नै आँखाअगाडि बुवा र आमा दुवैलाई बाढीले बगाएको विभत्स दृश्य देखेकी उनी यतिबेला गम्भीर मानसिक आघातमा छिन्। उनी बोल्न सक्ने अवस्थामा छैनन्।

अस्पताल परिसरमा रसुवामा आफन्त गुमाएका र सम्पर्कविहीन भएका परिवारजनहरूको रुवाबासी चलिरहेको छ। टिमुरेकी याम्चु तामाङ आफ्ना दिदी-भिनाजु र अन्य आफन्तको खोजीमा बुधबार साँझ टिचिङ अस्पताल पुगेकी थिइन्। तर, घाइतेहरूको सूचीमा आफन्तको नाम नदेखेपछि उनी भक्कानिएर रोइन्।

‘हामी बिहानैदेखि काठमाडौंका सबै अस्पताल चहारिरहेका छौं, कतै अत्तोपत्तो छैन,’ याम्चुले आँसु पुछ्दै भनिन्, ‘उद्धारमा खटिएका हेलिकप्टरले सजिलो ठाउँमा भेटिएका मानिसलाई मात्रै ल्याएछन्। पहिरोमा अड्किएका हाम्रा मान्छेलाई खोजेर छिटो उद्धार गरिदिनुपर्‍यो।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेहरूको काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

टिचिङ अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोसराका अनुसार अस्पतालमा भर्ना गरिएका अधिकांश घाइतेहरू हिलाम्मे अवस्थामा र गम्भीर चोटपटकसहित ल्याइएका छन्।

टिचिङ अस्पतालमा उपचाररत १७ जना घाइतेहरूमा रसुवा टिमुरेका ३४ वर्षीय तेजबहादुर तामाङ, ४८ वर्षीय पेमा तामाङ, २५ वर्षीय कुशल मगर, ४० वर्षीय ए. कार्की, २७ वर्षीय राजेन्द्र भट्ट, ३२ वर्षीय मीनबहादुर तामाङ, ३६ वर्षीय गिरीलाल बुढाथोकी, ३५ वर्षीय सुजन बस्नेत, २३ वर्षीय रोहन श्रेष्ठ, ५० वर्षीय बलबहादुर घर्ती, ३० वर्षीय अशोक श्रेष्ठ, २८ वर्षीय कर्म योञ्जन नगरकोटी र २२ वर्षीया सुरुची रानामगर रहेका छन्।

यस्तै दोलखाकी २० वर्षीया रीता डोल्चा, ३५ वर्षीया रीता दोचाच, रामप्रसाद थारू र नाम नखुलेका एक पुरुषको सोही अस्पतालमा उपचार भइरहेको छ।

यसैगरी, काठमाडौंको राष्ट्रिय ट्रमा सेन्टरमा नुवाकोट विदुरका भक्त भण्डारी, सीता भण्डारी, विवेक कुमाल र रिहाना लामिछाने गरी ४ जनाको उपचार भइरहेको छ भने छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा रसुवा गोसाइँकुण्डकी दावा डोल्मा उपचाररत छिन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार रसुवा बाढीका घाइतेहरूको आकस्मिक उपचारका लागि उपत्यकाका ६ वटा ठूला ‘हब’ अस्पतालहरूलाई तयारी अवस्थामा राखिएको छ।

जसमा वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, निजामती कर्मचारी अस्पताल र वीरेन्द्र सैनिक अस्पताल छाउनी रहेका छन्।

प्रकाशित: १० भाद्र २०८३ २०:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App