८ चैत्र २०८२ आइतबार
image/svg+xml
समाज

सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारीलाई मुख्यालय झिकाइयो

कैलालीको खक्रौलास्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रदीप पौडेलसहितका कर्मचारीलाई काठमाडौंस्थित सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय झिकाइएको छ ।

यही चैत ४ गते भारतबाट अवैध रूपले ल्याउँदै गरेको सामान पक्राउको विषयलाई लिएर भएको घटनाबारे छानबिन र युनिट सुरक्षामा लापरबाही गरेको पाइएपछि कारबाहीको लागि उनीहरुलाई प्रधान कार्यालय झिकाइएको हो ।  

उक्त घटनामा केही तस्कर समूह अनधिकृत रूपमा सशस्त्र प्रहरी बलको कार्यालयभित्र प्रवेश गरेर गुल्मपतिमाथि हातपातको प्रयास गर्दासमेत के कति कारणले बल प्रयोग नभएको र युनिट सुरक्षामा ध्यान नदिएको हो भन्ने विषयमा प्रधान कार्यालयले गम्भीर रूपमा छानबीन सुरु गरेको सशस्त्रका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए ।  

तस्कर समूह कार्यालयभित्र छिरेर हुलहुज्जत कसरी सिर्जना भयो भन्ने विषयमा समेत प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । तस्करी रोक्न विगतदेखि नै उत्कृष्टकार्य गर्दै आएका सशस्त्र प्रहरी नायब उपरीक्षक पौडेलको सक्रियता प्रधान कार्यालयलाई जानकारी भए पनि युनिट सुरक्षामा भने आवश्यक ध्यान नपुर्‍याएको प्रधान कार्यालयको ठहर छ ।

यसअघि उक्त घटनाका विषयमा छानबिन गर्न सशस्त्र प्रहरी बल नेपाल नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले नं ४३ रिजर्भ गण वनवेहडा कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक अनिल कार्कीको अध्यक्षतामा छानबिन समिति गठन गरिएको छ ।  

घटनालगत्तै घटनाको समयमा त्यहाँ उपस्थित रहेका सशस्त्र प्रहरी कर्मचारीलाई मुख्यालय तानिएको छ भने कार्यालयमा सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलालीबाट टोली बदली गरिएको छ । सशस्त्र प्रहरी बलले तस्करीविरुद्ध अभियान नै सञ्चालन गरिरहेकामा खक्रौलाबाट हुने तस्करीविरुद्ध विगतदेखि नै विशेष निगरानी गरिएको  प्रधान कार्यालयले जनाएको छ । 

प्रकाशित: ७ चैत्र २०८२ १८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App