२५ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

एयरपोर्ट–राँझा चौराहा सडक : प्रमुख पर्यटकीय मार्गमै गाईवस्तु बाँधिए

नेपालगन्जको एयरपोर्ट–राँझा चौराहा सडक जसले हवाई मार्गसम्मको प्रवेश मार्ग सुनिश्चित गर्छ। स्थानीयका लागि दैनिक आवतजावतको साधन मात्र होइन, पर्यटकको लागि पनि एक मात्र प्रवेशद्वार हो। 

तर यो सडक हिजोआज सडक प्रयोगकर्ताका लागि चुनौतीपूर्ण मात्र नभई खतरा पनि बनेको छ। सडकको फुटपाथमा गाईवस्तु बाँधिएका छन्, सरसफाइको अवस्था कमजोर छ। सडक बत्ती नहुँदा यात्रुहरू पूर्ण अन्धकारमा आउजाउ गर्छन्।

बिहानीको व्यस्ततामा यो सडकका दृश्य असहज देखिन्छ। गाईवस्तु फुटपाथमा बाँधिएका छन्, मानिसका पाइला बाटोमा थुप्रिएर हिँड्छन्। बिच सडकका गाडी र मोटरसाइकलको भीड, मानिस हिँड्ने फुटपाथमा गाईवस्तुको अस्तव्यस्त स्थिति देख्दा पैदल यात्रुहरू डरले ससानो कदम चाल्छन्। गाईवस्तु बाँध्ने स्थानीय भन्छन्, ‘घरमा खुला ठाउँ नहुँदा शीतलता र घामका लागि हामी यहीँ बाँध्छौँ।’ 

अहिलेसम्म कसैले पनि किन यहाँ राखेको नभनेको उनीहरू बताउँछन्। उक्त बाटोमा हिँड्दा गोबर–गहुँतको गन्धले स्थानीयले नाकै थुनेर हिँड्नुपर्ने अवस्था छ। धेरैले सडकलाई आफ्नो निजी स्थानका रूपमा लिने प्रवृत्ति देखाएका छन्। सडकको फुटपाथ केवल आवतजावतको माध्यम होइन, तर स्थानीयको गाईवस्तु राख्ने स्थल पनि बनेको छ, जसले जोखिम निम्त्याएको छ।

सडकको सरसफाइको अवस्था पनि गम्भीर छ। गाई वस्तुबाट उत्पन्न फोहोर, प्लास्टिक झोला र स्थानीयले फालेका अन्य फोहोर फुटपाथमै छरपस्ट छन्। सडक बत्ती नहुँदा साँझ पर्नासाथ मोटरसाइकल र गाडीले हेड लाइटकै भर पर्नुपर्ने बाध्यता छ। पैदल यात्रुलाई सडक पार गर्नु नै चुनौतीपूर्ण हुन्छ। यसैकारणले रातमा यात्रुहरू सावधानीपूर्वक सडक यात्रा गर्छन्।

यात्रु र स्थानीयका लागि यो सडक प्रयोग गर्दा जोखिम के हो भन्ने प्रस्ट छ। यस सडकको महत्व केवल यातायात मात्र होइन, पर्यटकीय दृष्टिले पनि छ। नेपालगन्ज प्रवेश गर्ने पर्यटकले यो मार्गबाट यात्रा गर्छन्, तर सडकको अवस्था देख्दा उनीहरूको पहिलो छाप नकारात्मक हुन्छ। सडक सरसफाइमा सुधार र गाईवस्तु व्यवस्थापनको अभावले दुर्घटनाको जोखिम बढाउँछ। गाईवस्तु फुटपाथमा बाँधिएका कारण पैदल यात्रु सडकको बिच भाग प्रयोग गर्न बाध्य हुन्छन्। यसबाट साना दुर्घटना मात्र होइन, ठूलो दुर्घटनाको सम्भावना पनि बढेको छ।

विशेषज्ञहरू भन्छन्– नेपालगन्जको यस्तो सडक अवस्था सहरको विकाससँग मेल खाँदैन। ‘सडक केवल यातायातको माध्यम होइन, यो सहरको अनुहार पनि हो। जब पर्यटक पहिलो पटक यहाँ पाउँछन्, सडकको अवस्था हेरेर उनीहरूको अनुभव प्रभावित हुन्छ’, एक यातायात विशेषज्ञले बताए। स्थानीय र प्रशासनबिचको संवाद कमजोर हुनु पनि समस्याको अर्को पक्ष हो। सडकको महत्व, गाईवस्तुको व्यवस्थापन र सरसफाइका विषयमा स्पष्ट योजना नभएकाले समस्या दोहोरिने अवस्था छ।

सडकको यो अवस्था अहिलेको चुनौती हो तर स्थानीय र प्रशासनको सहकार्य भयो भने गाईवस्तुको व्यवस्थापन, सरसफाइ र रात्रिकालीन प्रकाशको उचित व्यवस्था गरेर यो सडकलाई सुरक्षित र सुन्दर बनाइने छ। जब यी उपाय लागु हुन्छन्, तब मात्र एयरपोर्ट–राँझा चौराहा सडक नेपालगन्जको गौरवपूर्ण प्रवेशद्वार बन्न सक्छ।

बेलाबेला सचेत गराए पनि स्थानीय अटेरी हुँदा यहाँ समस्या भएको वडाध्यक्ष कौशल धोबीले बताए। ‘गाईवस्तु खोलेर धपाएका पनि हौँ। समान पनि जफत गरेका थियौँ’, उनले भने, ‘जति प्रयास गरे पनि स्थानीयले मान्दै मान्दैनन्।’ सडक बिजुली लगाए पनि अहिले मर्मत–सम्भार नहुँदा समस्या भएको उनी बताउँछन्। 

‘एयरपोर्ट–राँझा चौराहासम्म प्रत्येक पोलमा सानाठूला बल्ब राखेका छौं’, उनी भन्छन्, ‘दसैँअगाडि परेको पानीले बिगारेकाले छिटै मर्मत गर्छौँ।’ यस मार्गलाई आकर्षक र सुन्दर बनाउन वडाको मात्र दायित्व नभएर नगरले पनि जिम्मेवारी लिनुपर्ने उनले बताए। ‘वडाको स्रोत साधनले भ्याउँदैन’, उनी भन्छन्, ‘जिल्लाकै परिचय दिने ठाउँमा नगरले पनि जिम्मेवारी निर्वाह गर्नुपर्छ।’ उनले नगर सभामा यो विषयमा बेलाबेला कुरा उठाउँदै आएका छन्, तर नगरले चासो देखाएको छैन।

प्रकाशित: २८ आश्विन २०८२ ०७:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App