२० मंसिर २०८२ शनिबार
image/svg+xml
समाज

आहा! मुग्लिन-पोखरा सडक

<br>

विस्तारका क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डका सबै काम नसकिए पनि यात्रा भने सहज बनिसकेको छ। राजमार्ग सहज भएसँगै यात्रा अवधि छोट्टिएको छ र यात्रुले सुविस्तापूर्वक यात्रा गर्न पाएका छन्।

पोखरादेखि आँबुखैरेनीसम्म ८० किमि छ। यसलाई दुुईखण्ड (पूर्वीखण्ड आँबुुखैरेनी–जामुने ४१ किलोमिटर र पश्चिमखण्ड जामुने–पोखरा ३९ किलोमिटर) मा बाँडे र विस्तार गर्न थालिएको थियो। राजमार्गका ठाउँठाउँमा ठुला आकारका पुल बनाउने काम बाँकी छ। विस्तारित राजमार्गमा दुइतर्फी कालोपत्रे नसकिएको केही भागमा एकतर्फी (दुई लेन) कालोपत्रे गरेर भए पनि यात्रालाई सहज बनाउने प्रयास भइरहेको आयोजनाले बताएको छ।

पूर्वीखण्डमा कालोपत्रे गर्ने काम केही महिनाअघि नै सकिएको थियो। पूर्वीखण्डमा पर्ने दमौलीमा ठुलो आकारको पुलको काम मात्र पूरा हुन बाँकी छ। पश्चिमखण्डमा पनि धेरैजसो भाग कालोपत्रे भइसकेकोले यात्रा सहज बनिसकेको पोखरा–मुग्लिन आयोजना पश्चिम खण्डका प्रमुख इन्जिनियर कृष्ण कुँवरले जानकारी दिए।

कुँवरका अनुसार पश्चिम खण्डको २६.५ किलोमिटर दुईतर्फी नै कालोपत्रे भएको छ। त्यस्तै १०.३ किलोमिटर खण्डमा एकतर्फी (दुई लेन) कालोपत्रे भएको छ। पश्चिमखण्डको ३९ किलोमिटरमध्ये ३६.८ किलोमिटरमा कालोपत्रे भएको कुँवरले जानकारी दिए। ‘पुल खण्डबाहेक बढीमा १३ सय मिटरमात्र कालोपत्रे हुन बाँकी छ। यात्रुले यात्रामा सहज अनुभूति गरिसकेका छन,’ उनले भने।

कुँवरका अनुसार विजय पुल खण्ड, लेखनाथको पोखरा विश्वविद्यालय नजिकैको भाग, डाँडाकोनाक चौकीको खण्डमा मात्र कालोपत्रे गर्न बाँकी छ। ‘बाँकी सडक कालोपत्रे हुनासाथ यात्रुलाई थप सहज हुनेछ,’ उनले भने, ‘हाम्रा लागि अझै धेरै काम बाँकी छ। तर यात्रा भने सहज भइसकेको छ। यात्रुको गुनासो अब कम हुनेछ।’

सबैगरी ५७ प्रतिशत भौतिक प्रगति भएको उनले बताए।

ठेक्का सम्झौताअनुसरा पश्चिमखण्डको काम पुससम्म सक्नैपर्छ। त्यो बेलासम्म मुख्य सडकको काम सकेर सर्भिस लेन बाँकी रहने उनले बताए। ‘पुससम्म सबै काम पूरा त हुँदैन। तर मुख्य सडकको काम भने पूरा हुनेछ। अहिले पनि कालोपत्रेको तयारी भइरहेको छ,’ कुँवरले भने।

पश्चिमखण्डको ३९ किलोमिटरमध्ये १९ किलोमिटरमा ६ लेन पर्छ। बाँकी खण्ड मात्र चार लेनको छ। पश्चिमखण्डको अधिकांश भाग सहरी क्षेत्रमा पर्ने भएकाले पनि ६ लेनको बनाइएको उनले बताए।

‘एकतर्फी भए पनि दुई लेन भएकाले दोहोरो रुपमा सवारीसाधन चलेका छन्। त्यसैले पश्चिम खण्डमा यात्रा गर्दा पनि अब बढीमा डेढ किलोमिटर मात्र कालोपत्रे नभएको वा पुरानो सडकमा यात्रा गर्नुपर्छ,’ कुँवरले भने, ‘यात्रुलाई सहज होस् भनेर अहिले कालोपत्रे गर्न जोड दिइएको छ।’

पुससम्म सबै खण्डमा कालोपत्रे सक्ने लक्ष्यका साथ काम भइरहेको उनले बताए। पश्चिमखण्डका लागि २०२५ डिसेम्बर ३१ सम्म म्याद छ। त्यो बेलासम्म केही झिनामसिनाबाहेक सबै काम सकिने उनको भनाइ छ।

पर्यटकीय राजधानी पोखरालाई मुख्य सहरसँग जोड्ने पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड स्तरोन्नतिका क्रममा भत्काइएको थियो। त्यसकारण यात्रा सकसपूर्ण बनेको थियो। भताभुंग हुँदा सडक यात्रा असहज भएको भन्दै निकै नै आलोचना हुने गरेको थियो। राजमार्गको सकसपूर्ण अवस्थाका कारण गण्डकी प्रदेशको पर्यटन क्षेत्रले नोक्सानी खेप्नुपरेको गुनासो व्यवसायीले गर्दै आएका थिए।

निर्माण कम्पनीसँग भएको सम्झौताअनुसार सम्झौता भएको दिनदेखि तीन वर्षभित्र राजमार्ग विस्तार गरिसक्नु पर्ने थियो। पूर्वीखण्डका लागि २०२१ अप्रिलमा र पश्चिमखण्डका लागि २०२१ अगस्टमा ठेक्का सम्झौता भएको थियो। पूर्वीखण्ड विस्तारका लागि चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको थियो।

पश्चिमखण्ड विस्तारको काम पनि चिनियाँ कम्पनी अनहुई काइयुयान रोड एन्ड ब्रिज कम्पनीले पाएको थियो। एसियाली विकास बैंक(एडिबी) को सहुलियत ब्याज ऋण सहयोगमा पोखरा–आँबुखैरेनीसम्मको दुई लेन सडकलाई विस्तार गरी चार बनाउन थालिएको हो।

१३ अर्ब ६१ करोड रुपैयाँ लगानीमा राजमार्ग विस्तार भइरहेको छ। आयोजनाका अनुसार पूर्वीखण्डमा पर्ने आँबुखैरेनी–जामुनेसम्मका लागि ६ अर्ब २१ करोड र पश्चिम खण्डमा पर्ने जामुनेदेखि पोखरासम्मका लागि ७ अर्ब ४० करोड रुपैयाँ खर्च हुनेछ। यो रकम सडक विस्तारका लागि मात्र हो। त्यसबाहेक तनहुँको दमौलीस्थित मादी नदीमाथि पुल बनाउन १ अर्ब २० करोड र पोखरामा सेती नदीमाथि पुल बनाउन थप १ अर्ब रुपैयाँ लाग्नेछ। सबैगरी १५ अर्ब रुपैयाँ बढी रकम राजमार्ग विस्तारमा खर्च हुनेछ।

प्राविधिकका अनुसार यो राजमार्गको ६ लेन ४१ देखि ४५ मिटर फराकिलो हुनेछ भने चार लेन २१ देखि २२ मिटरसम्मको फराकिलो हुुनेछ। दायाँबायाँ नाली र बिचमा तीन मिटरको फराकिलो डिभाइडर पनि यसैमा बनाइने आयोजनाले जनाएको छ।

प्रकाशित: २१ भाद्र २०८२ १२:१३ शनिबार