११ फाल्गुन २०८२ सोमबार
image/svg+xml
समाज

उदयपुरमा निर्वाचन कर्मचारी छनोट

जिल्ला निर्वाचन कार्यालय। तस्बिरः महेश्वर

आसन्न २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान हुन १२ दिन बाँकी हुँदा उदयपुरका लागि आवश्यक मतदान अधिकृत कर्मचारी छनोट सकिएको छ। चुनावलाई शान्तिपूर्ण, भयरहित र सफलतापूर्वक सम्पन्न गराउन आवश्यक मतदान अधिकृत र सहायक मतदान अधिकृतको छनोट गरिएको जिल्ला निर्वाचन कार्यालय उदयपुरले जनाएको छ।

निर्वाचन अधिकारी दिपक दाहालका अनुसार दुई निर्वाचन क्षेत्र रहेको जिल्लामा १ नं. निर्वाचन क्षेत्रसमेतको जिम्मेवारी पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले १ सय ६४ जना मतदान अधिकृत र सोही संख्यामा सहायक मतदान अधिकृत छनोट गरेको जनाएको छ।

त्यसैगरी, २ नं. क्षेत्रका लागि १ सय १९ मतदान अधिकृत र १ सय १७ जना सहायक मतदान आधिकृत छनोट गरिएको छ। कथंकताचित कोही अनुपस्थित हुन गए काम नरोकियोस् भन्ने उदेश्यले तोकिएको केन्द्रभन्दा ३–४ जना बढी अतिरिक्त कर्मचारी छनोट गरिएको २ नं. निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता नारायण थापाले बताए।

निर्वाचन कार्यालयले छनोट भएका कर्मचारीको नामावली आइतबार दिउँसो प्रकाशन गरेको छ। दुवै निर्वाचन अधिकृतको कार्यालयले सूचना पाटीमा छनोट भएका कर्मचारीहरूको नामावली टाँस गरेको र छानिएका कर्मचारीहरूलाई सम्बन्धित मतदान केन्द्र पठाउन आवश्यक तालिम तथा प्रशिक्षण दिने तयारी भइरहेको छ।  

उदयपुरमा १ नं. क्षेत्रमा १ सय ६३ र २ नं. मा १ सय १५ मतदान केन्द्र रहेको कार्यालयले जनाएको छ। ती सबै केन्द्रमा खट्ने कर्मचारी र सहायक कर्मचारीको छनोट भने हुन बाँकी छ। निर्वाचनमा खटाइएका कर्मचारीहरू नेपाल सरकार, संघीय तथा प्रदेश निजामती र स्थानीय तहमा कार्यरत स्थानीय सेवा र संस्थानका कर्मचारी रहेका छन्।

कार्यालयले चुनावका लागि आवश्यक सम्पूर्ण मतपत्र आइसकेको पनि जनाएको छ। प्राप्त मतपत्रहरू सम्बन्धित केन्द्रमा पठाउनका लागि सेटिङ गर्ने काम भइरहेको प्रवक्ता थापाले बताए। उनका अनुसार निर्वाचन हुने अघिल्लो साँझसम्ममा सम्बन्धित मतदान केन्द्रमा मतपत्र पुर्याइसक्ने गरी पठाउने तयारी भइरहेको छ।

प्रकाशित: १० फाल्गुन २०८२ २०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App