उदयपुरस्थित मदन भण्डारी लोकमार्गको गाईघाट–कटारी खण्डअन्तर्गत ‘दुर्घटनाको हटस्पट’ मानिने अँधेरीमा सोमबार दिउँसो यात्रुबाहक बस दुर्घटना भएको छ।
उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा भएको उक्त दुर्घटनामा परी सहचालकसहित १५ जना घाइते भएका छन् भने तीमध्ये दुई जनाको अवस्था गम्भीर छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका अनुसार कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२७५ नम्बरको ओखलढुङ्गे डिलक्स बस अनियन्त्रित भई दुर्घटनामा परेको हो। बस सडकबाट करिब ५० मिटर तल खसेको छ।
घटनालगत्तै अस्थायी प्रहरी चौकी संगमचोक र स्थानीय ट्राफिक प्रहरीको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल गाईघाट पठाएको थियो।
अस्थायी प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक तिलक पौडेलका अनुसार घाइतेमध्ये उदयपुरगढीकी ७३ वर्षीया सोममाया तामाङ र कटारी नगरपालिकाकी ६० वर्षीया सोममाया परियारको अवस्था गम्भीर छ।
शरीरका विभिन्न भागमा चोट लागेका उनीहरूलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि अन्यत्र रिफर गर्ने तयारी भइरहेको छ।
अन्य १३ जना घाइतेहरूको भने जिल्ला अस्पतालमै उपचार भइरहेको छ। सामान्य घाइते हुनेहरूमा ताप्ली गाउँपालिकाका मोनिका मगर (२८), प्रकाश भुजेल (४०), सुबास नेपाली (२८), कटारीका अनिल चौधरी (३५), पवित्रा श्रेष्ठ (१९), दलबहादुर तामाङ (७८), प्रेम तामाङ (१५) र सुजन तामाङ (१५) रहेका छन्।
त्यसैगरी, त्रियुगा नगरपालिकाकी रेशिका बस्नेत (२१), रेश्मा बस्नेत (२०) तथा उदयपुरगढीका तिलक बस्नेत (१७) र १० वर्षीय बालक दिपस तामाङ पनि घाइते भएको प्रहरीले जनाएको छ।
बसमा चालकसहित कुल १६ जना सवार थिए। दुर्घटनामा सहचालकदेखि यात्रुहरू घाइते भए पनि चालक विक्रम राई भने सकुशल छन्। चालक राईलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरीले जनाएको छ।
घटनास्थल संगमचोकदेखि अँधेरी झर्नासम्मको खण्ड नागबेली र ओरालो घुम्ती भएकाले यसलाई ‘दुर्घटनाको हटस्पट’ मानिन्छ।
लोकमार्ग सञ्चालन भएदेखि नै यहाँ पटक-पटक दुर्घटना हुँदै आएको छ। विशेषगरी पश्चिमतर्फ जाँदा उकालो भए पनि पूर्वतर्फ आउँदा ओरालो घुम्ती पर्ने भएकाले सवारी साधन अनियन्त्रित भई दुर्घटनामा पर्ने गरेको प्रहरीको निष्कर्ष छ।
प्रकाशित: ११ फाल्गुन २०८२ १४:५८ सोमबार





