नेपाल सरकारको स्वामित्वमा रहेको कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय जनकपुरधामले चालू आर्थिक वर्षको आठ महिनामा रु ४३ करोड ३८ लाख ८७ हजार २५४ बराबरको रासायनिक मल बिक्री वितरण गरेको छ।
कार्यालयले सो अवधिमा रु १३ करोड ८७ लाख ६७ हजार ५८० बराबरको आठ हजार १५८ मेट्रिकटन युरिया, रु २९ करोड ७९ लाख सात हजार मूल्य बराबरको छ हजार ३२० मेट्रिकटन डिएपी तथा रु ४३ लाख २२ हजार ६७१ बरारको १८८ मेट्रिकटन पोटास बिक्री गरेको कार्यालय प्रमुख वेचनकुमार साहले जानकारी दिए।
धनुषा तथा महोतरी जिल्ला गरी दुई जिल्लामा सो कार्यालयले किसानलाई सम्बन्धित पालिकाको सिफारिसमा रासायनिक मल वितरण गर्दै आएको छ। उक्त दुवै जिल्लाका २७ पालिकाहरूमा २१२ वटा आधिकारिक डिलरमार्फत उक्त रासायनिक मल बिक्री गर्दै आएको छ। हाल कार्यालयको गोदाममा एक हजार १९२ मेट्रिकटन युरिया, ८३८ मेटिकटन डिएपी मल तथा ३६१ मेट्रिकटन पोटास मौज्जदात रहेको कार्यालयद्वारा जारी तथ्याङ्कमा जनाइएको छ।
हालको सिजनका लागि आवश्यक पर्ने रासायनिक मल गोदाममा मौज्जदात रहेको उनकाे भनाइ छ। उनले पालिकाका किसानका लागि छुट्याइएको रासायनिक मल सम्बन्धित निकायले लिन नआएको प्रमुख साहले बताए। गत आर्थिक वर्षमा सो कार्यालयले रु ३५ करोड मूल्य बराबरको रासायनिक मल बिक्री वितरण गरेको थियो। धनुषा तथा महोतरीका सीमा क्षेत्रका किसानले भारतीय सीमाबाट रासायनिक मल खरीद गरी ल्याउने गरेको छ।
प्रकाशित: १६ चैत्र २०८२ १५:४४ सोमबार



-600x400.jpg)

