जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्यांकोट गाउँकी २२ वर्षीया कविता बुढा जातीय विभेद गरेको आरोपमा चैत १६ गते प्रहरीले पक्राउ गरेको छ।
चैत १५ गते बेलुकी चन्दननाथ नगरपालिका–५ कालेखोलीस्थित एक सार्वजनिक होटलमा सोही गाउँका २७ वर्षीय राजबहादुर सुनारमाथि अपशब्द प्रयोग गर्दै जातीय विभेद गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको हो।
घटनापछि अपशब्द प्रयोग गरिएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। पीडित पक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालय जुम्लामा ठाडो उजुरी दिएपछि आरोपितलाई पक्राउ गरिएको डीएसपी रविनबाबु रेग्मीले बताए।
उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ।
आइतबार बेलुका सार्वजनिक भएको एक मिनेट ३४ सेकेन्डको भिडियोमा उनले ‘मेरा घर दसैंमा पुच्छर लिन आउँछन्’ लगायतका अभिव्यक्ति दिँदै अपमानित गरेको पीडित पक्षको दाबी छ। होटलमा रहेका अन्य व्यक्तिलाई उनले ‘दाइ, तपाईंहरू दुःख नमान्नु होला, मैले भन्न पाएकी पाएन’ भन्दै चर्को स्वरमा बोल्दै गरेको देखिन्छ।
वरिपरि बसेकाले उनको बोल्ने तरिका उपयुक्त नभएको भन्दै सम्झाइरहेका बेला उनले ‘म कतै जाउँ (प्रहरीमा हाल), मेरो जेठा बाले निकाल्छ’ भन्दै धम्कीपूर्ण अभिव्यक्ति समेत दिएकी थिइन्।
घटनापछि भिडियो सार्वजनिक भएसँगै दलित समुदायसँग सरोकार राख्ने विभिन्न पक्षहरूले आपत्ति जनाउँदै दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। तत्काल कारबाही नगरे आन्दोलनमा उत्रने चेतावनी समेत दिइएको छ।
प्रकाशित: १६ चैत्र २०८२ १७:३१ सोमबार





