आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण सुरु गरिएको छ ।
काठमाडौं महानगरपालिकाले अस्पतालसँगको सहकार्यमा आज अस्पतालमा आयोजित कार्यक्रममा महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण सुरु गरिएको हो ।
क्यान्सर परीक्षण आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने जनाइएको छ । परीक्षण शुभारम्भमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले क्यान्सर रोग समयमा पत्ता लगाउन सके जीवन बाँच्न सक्ने बताइन ।
‘जाँच गरेर समयमा क्यान्सर पहिचान गर्न सकियो भने उपचार सरल र कम खर्चिलो हुन्छ । जीवन बचाउन सकिन्छ’, उनले भनिन। सोही क्रममा उनले आफ्नो पनि क्यान्सर परीक्षण गराइन ।
राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले यसअघि समयमा क्यान्सर पहिचान गर्न नसक्दा यो डरलाग्दो बनेको बताए ।
अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिलिप शर्माले महिलाले पटकपटक क्यान्सर परीक्षण गर्नुपर्ने र क्यान्सर लाग्दैमा डराउनु नपर्ने बताए।
प्रकाशित: १६ चैत्र २०८२ २१:१० सोमबार





