आगामी बिहीबार (फागुन २१) मा हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ।
यो अवधिमा मतदाता र दललाई प्रभाव पार्ने कुनै पनि सामाग्री तथा विषयवस्तु प्रचार-प्रसार गर्न नहुने निर्वाचन आयोगले स्पष्ट पारेको छ। आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मतदातालाई प्रभावित गर्ने गरी सामग्री प्रचार-प्रसार गर्न नहुने र यो विषयमा सचेत गराउने काम पत्रकारको पनि भएको बताए।
प्रेस काउन्सिल र अनलाइन पत्रकार संघको संयुक्त आयोजनामा आइतबार भएको 'मौन अवधि र मिडिया' विषयक अन्तरक्रिया कार्यक्रम'मा उनले यस्तो बताएका हुन्। 'यो अवधिमा त्रास फैलिने खालका सामग्री, दलको पक्षविपक्षमा विचार दिइने खालका सामाग्री, निर्वाचन कार्यक्रम बिथोल्ने जस्ता झुट्टा सामग्री सम्प्रेषण गर्न नहुने तर निर्वाचन आयोगले गरेका काम, राजनीतिक दलका घोषणापत्रका कार्यक्रमहको विषयमा सामाग्री बनाउन मिल्ने उनले बताए।
आयुक्त भण्डारीले निर्वाचनमा मिडियाले खेलेको सकरात्मक भूमिकाकै कारण समयमै निर्वाचन गर्न सम्भव भएको र विगतको निर्वाचनमा पनि मिडियाको भूमिका सकारात्मक रहेको स्मरण गरे।
प्राध्यापक रामकृष्ण रेग्मीले मौन अवधिमा मतदातलाई प्रभाव पार्ने सामग्री प्रसारण गर्न नहुने सुझाए। 'यस्तो काम पत्रकारबाटै भयो भने मतदाताले पनि मौन अवधि उल्लंघन गर्छन्', उनले भने। यो अवधिमा मतदातालाई भ्रम सिर्जना गर्ने, चिह्न, विवरण, सामग्री केही पनि दिन नहुने रेग्मीले बताए। यसअघि प्रसारण भइसकेका भ्रमपुर्ण सामग्री समेत मौन अवधिमा मेटाउनु पर्ने, यो अवधिमा सामग्री दिंदा सचेतनापुर्वक दिने, जनमत सर्वेक्षण लिने जस्ता सामाग्री प्रसारण गर्न नपाइने उनको भनाइ छ। त्यसैगरी निर्वाचनको अवधिमा नतिजा आउँदा-आउँदै दिशानिर्देशन दिने, सामग्री मार्फत आफ्नो उद्देश्य पुरा गर्ने लगायतका काम गर्न नहुने उनले बताए।
नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले मौन अवधिमा हुन सक्ने गलत सूचनाको भ्रम चिर्न सक्दो सही सूचना आम सञ्चार माध्यमले पस्किनु पर्ने सुझाइन।
कार्यक्रममा बोल्दै नेपाल प्रेस काउन्सिलका सदस्य बालकृष्ण अधिकारीले जटिल परिस्थतिमा सम्पन्न हुन गइरहेको आसन्न निर्वाचनलाई शान्तिपुर्ण तवरले सम्पन्न गर्न आम सञ्चारकर्मीको भूमिका महत्वपुर्ण रहेको बताए । ‘यो अवधिमा व्यक्तिको संघसंगठनको अधिकार माथि हस्तक्षेप गर्ने गरी सम्प्रेषण भएका सामग्रीको काउन्सिलले नियमन गरेको छ, उपत्यकासहित ८ प्रदेशको हिसावले निर्वाचन आचारसंहिता पालनाको लागि सचेत गराएका छौ’उनले भने । पत्रकार र आमसञ्चार माध्यम को हो र हैन भन्ने भेद छुट्टाउन पनि आचार संहिता पालना गर्न आवश्यक रहेको अधिकारीले बताए ।
सूचना विभागका निर्देशक छविन्द्र भण्डारीले सोमबार साँझदेखि सुरु हुने मौन अवधिमा हरेक सञ्चारकर्मी र सञ्चारमाध्यमले आचार संहिता पालना गरेर आम नागरिक प्रतिको भूमिका निर्वाह गर्न आग्रह गरे।
प्रकाशित: १७ फाल्गुन २०८२ १८:४२ आइतबार





