५ भाद्र २०८३ शुक्रबार
image/svg+xml
समाज

मेलौलीमा प्रशासनिक सेवा, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

मेलौलीमा इलाका प्रशासन कार्यालय स्थापना भएसँगै स्थानीयवासीलाई प्रशासनिक सेवा लिन सहज भएको छ। कार्यालय स्थापनापछि मेलौली नगरपालिकासहित शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको हो।

यसअघि नागरिकता, नागरिकताको प्रतिलिपि र राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला सदरमुकाम पुग्नुपर्ने बाध्यता थियो। गत वैशाख २४ गते इलाका प्रशासन कार्यालय स्थापना भएपछि स्थानीयवासीले यी सेवासहित अन्य प्रशासनिक सेवा पनि मेलौलीबाटै लिन पाएका छन्। मेलौली नगरपालिका-८ का शम्भुसिंह विष्टले कार्यालय स्थापनापछि प्रशासनिक सेवा लिन सहज भएको बताए।

'नागरिकतालगायतका प्रशासनिक कामका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता थियो। एक दिनभन्दा बढी समय लाग्थ्यो,' पञ्चेश्वर गाउँपालिका-१ का सुरेशराम सार्कीले भने, 'कार्यालय स्थापनापछि समय र खर्च बचत हुनुका साथै आवतजावतको झन्झटसमेत हटेको छ।'

इलाका प्रशासन कार्यालयले नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र र नाबालक परिचयपत्र वितरणलगायत सेवा प्रदान गर्दै आएको छ। इलाका प्रशासन कार्यालय मेलौलीका प्रमुख महेश भट्टका अनुसार हालसम्म एक हजार ७७ जनाले नागरिकता र ३३८ जनाले नागरिकताको प्रतिलिपि लिएका छन्। यस्तै, राष्ट्रिय परिचयपत्रका लागि एक हजार ३२५ जनाको विवरण सङ्कलन गरिएको छ भने ९२ जनालाई राष्ट्रिय परिचयपत्र वितरण गरिएको छ।

नियमित सेवा प्रवाह हुन थालेपछि दुर्गम क्षेत्रका नागरिकलाई प्रशासनिक सेवा लिन सहज भएको प्रमुख भट्टले बताए। 'दैनिक सेवाग्राहीको चाप बढी नै हुने गरेको छ,' उनले भने, 'जनशक्ति अभावका बीच पनि कार्यालयले नियमित सेवा प्रवाह गरिरहेको छ।' कार्यालयले बजार अनुगमनलगायतका प्रशासनिक कामसमेत गर्दै आएको प्रमुख भट्टले जानकारी दिए।

प्रकाशित: ५ भाद्र २०८३ १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App