नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीभित्र देखिएको मतभेद अन्त्य गर्दै सबै नेता तथा कार्यकर्तालाई संवाद र एकताका लागि पार्टीको केन्द्रीय कार्यालय सानेपा आउन अपिल गरेका छन्।
सामाजिक सञ्जालमार्फत पौडेलले नेपाली कांग्रेस केवल राजनीतिक दल नभई लोकतन्त्र, जनअधिकार र समृद्धिको अभियान भएको उल्लेख गर्दै वर्तमान राजनीतिक परिस्थितिमा पार्टी एकजुट हुनुपर्ने आवश्यकता औंल्याए।
उनले पछिल्लो समय मुलुकमा विकसित राजनीतिक घटनाक्रम, सरकारका गतिविधि तथा देशमा बढ्दो राजनीतिक चुनौतीप्रति गम्भीर चिन्ता व्यक्त गर्दै कांग्रेस कमजोर भए मुलुक थप राजनीतिक संकटतर्फ जान सक्ने चेतावनी दिए।
‘मुलुकले हामीबाट एकता र अभिभावकत्व खोजिरहेका बेला हामी आफैंभित्रको बेमेल र असन्तुष्टिले थिचिएका छौं’, उनले भनेका छन्,‘यस्तो बेला हामी विभिन्न बहानामा विभाजित हुनु भनेको लोकतन्त्र र देशलाई नै कमजोर बनाउनु हो। समयमै गल्ती सच्याएनौ भने इतिहासले हामीलाइ क्षमा दिने छैन।’
पौडेलले पार्टीभित्रका विवाद अदालतबाट होइन, राजनीतिक संवादबाट समाधान गर्नुपर्ने धारणा राख्दै असन्तुष्ट नेता, कार्यकर्ता र शुभेच्छुकलाई आफ्नो फरक विचारसहित सानेपामा आएर खुला संवाद गर्न आग्रह गरे।
‘हाम्रो घरभित्रका विमतिहरूलाई सडकमा लैजाने वा अदालतको ढोका कुरेर बस्ने समय यो होइन। सबै असन्तुष्ट श्रद्धेय नेता, जुझारु कार्यकर्ता र आत्मीय शुभेच्छुक साथीहरू आफ्नो फरक विचारलाई बोकेर पार्टीको साझा मन्दिर सानेपा आउनुहोस्। सानेपामा बसेर मनैदेखि संवाद गरौं’,उनले भने।
उनले १५औँ महाधिवेशन तोकिएकै समयमा सम्पन्न गरी कार्यकर्ताले चयन गर्ने नेतृत्वलाई स्वीकार गर्दै लोकतन्त्र सुदृढ बनाउन सबै एकजुट हुनुपर्ने बताए। साथै, पार्टीभित्रको आन्तरिक विवादभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए।
उनले थप भने, ‘हामी झगडिया वा रमिते भएर बस्दा देशले सही नेतृत्व पाउँदैन। अहिलेको सरकारलाइ खबरदारी पुगेन भने यसले देशलार्इ फर्कनै नसक्ने अनिश्चयको दिशामा लैजाने छ। सबै मतभेदलाई थाँती राखेर पार्टीको मूल प्रवाहमा गोलबद्ध हुन र नेपाल तथा नेपाली जनताको सुन्दर भविष्यका लागि सँगै हिड्न विनाशर्त सानेपा आउन म हार्दिक अपिल गर्दछु।’
प्रकाशित: ५ भाद्र २०८३ १२:२३ शुक्रबार





