कपिलवस्तुमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सृजना गरी कालोबजारी भएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालयले कारबाही गर्ने चेतावनी दिएको छ।
बजारमा प्रतिसिलिन्डर १ हजार ९२० रुपैयाँ पर्ने ग्यासलाई डिलर तथा व्यापारीहरूले लुकाएर ३ हजारदेखि ३ हजार ५०० रुपैयाँसम्म असुल्ने गरेको जनगुनासो आएको छ।
उपभोक्ताले सहज रूपमा ग्यास नपाएपछि प्रशासनले यस विषयमाचासो देखाएको हो।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेले मंगलबार एक सार्वजनिक सूचना जारी गर्दै कृत्रिम अभाव सृजना गर्ने व्यापारीलाई सचेत गराएका छन्।
उपभोक्ताले दैनिक रूपमा प्रयोग गर्ने अत्यावश्यक वस्तु लुकाउने, भण्डारण गर्ने र बढी मूल्यमा बिक्री गर्ने कार्य अमानवीय र कानुनविपरीत भएको सूचनामा उल्लेख छ।
ग्यासको भण्डारण, आपूर्ति र बिक्री वितरणलाई सहज बनाउन प्रशासनले जिल्लाका उद्योगी, व्यवसायी तथा डिलरहरूलाई जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिएको छ।
यस निर्देशनको अटेर गरी कृत्रिम अभाव सृजना गरेको पाइएमा ‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२’ र अन्य प्रचलित कानुनबमोजिम कडा कारबाही हुने प्रशासनले चेतावनी दिएको छ।
प्रकाशित: २६ फाल्गुन २०८२ १६:०० मंगलबार





