कालीकोट प्रशासनले राष्ट्रिय गौरवको प्रसारण लाइन आयोजनाका लागि अधिग्रहण गरिएको रेंगिलको जग्गा भदौ १५ गतेभित्र खाली गर्न सार्वजनिक सूचना जारी गरेको छ।
कर्णाली कोरिडोर अन्तर्गत निर्माणाधीन ४०० केभी फुकोट-बेतन-दोदोधारा प्रसारण लाइन आयोजनाको सबस्टेसन निर्माणका लागि अधिग्रहण गरिएको उक्त क्षेत्र खाली गर्न प्रशासनले परिपत्रसमेत गरेको हो।
नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले फुकोट सबस्टेसन निर्माणका लागि खाँडाचक्र नगरपालिका-११, रेंगिलका किसानहरूको जग्गा अधिग्रहण गरिसकेको छ।
आयोजनाले तत्काल कार्यालयका संरचना बनाउन र घेराबार गर्नुपर्ने भएकाले उक्त क्षेत्रमा रहेका घर-टहरा हटाउन र खेतीपाती नगर्न निर्देशन दिएको हो।
कालीकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार, जग्गा अधिग्रहण गरी आवश्यक क्षतिपूर्ति दिइसके पनि स्थानीयले पुनः धानखेती गरेको पाइएपछि सूचना जारी गरिएको हो।
‘यो पटक रोपिएको धान भित्र्याउनका लागि भदौ १५ सम्मको समय दिइएको छ,’ प्रजिअ भट्टराईले भने, ‘त्यसपछि फेरि बाली लगाएमा बीउ खेर जाने हुँदा सबैलाई सचेत गराउन सूचना गरेका हौं।’
असार २६ गते बसेको जिल्ला मुआब्जा निर्धारण समितिको बैठकले जग्गा खाली गराउन सूचना जारी गर्ने निर्णय गरेको थियो। सूचनामा तोकिएको समयभित्र घर-टहरा नहटाएमा र जग्गा खाली नगरेमा कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
वर्षमा चार बाली उत्पादन हुने रेंगिलको उर्वर जमिन विद्युत् आयोजनालाई दिन स्थानीयवासीलाई सहमत गराउन झण्डै दुई वर्ष लागेको थियो।
प्रकाशित: १५ श्रावण २०८२ २०:३० बिहीबार





