काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित बनाउन ट्राफिक प्रहरीले प्रविधिमैत्री व्यवस्थापनलाई प्राथमिकता दिँदै ‘फेसलेस ट्राफिकिङ’ प्रणालीलाई प्रभावकारी रूपमा विस्तार गरिरहेको छ।
सीसीटिभी क्यामेरामार्फत ट्राफिक निगरानी, सवारी आवागमनको विश्लेषण तथा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाहीलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेश काफ्लेका अनुसार हाल काठमाडौं उपत्यकामा हुने ट्राफिक कारबाहीमध्ये करिब ४० देखि ५० प्रतिशत कारबाही सीसीटिभी क्यामेराबाट प्राप्त प्रमाणका आधारमा भइरहेको छ। प्रविधिको प्रयोगसँगै ट्राफिक व्यवस्थापनलाई थप पारदर्शी, प्रभावकारी र विवादरहित बनाउने लक्ष्य राखिएको उनले बताए।
एसएसपी काफ्लेका अनुसार कार्यदिनमा औसत दुई हजारभन्दा बढी सवारी चालक ट्राफिक कारबाहीमा पर्ने गरेका छन्। कारबाहीको संख्या बढ्दै गएको देखिए पनि यसको उद्देश्य राजस्व संकलन नभई ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन र सडक सुरक्षालाई मजबुत बनाउनु रहेको उनले स्पष्ट पारे।
"गल्तीको प्रकृतिअनुसार जरिवाना उठ्ने हो, हाम्रो उद्देश्य जरिवाना संकलन गर्नु होइन," उनले भने, "नियम उल्लंघन गर्नेलाई सचेत गराउने र त्यही गल्ती दोहोरिन नदिन कानुन कार्यान्वयन गरिएको हो।"
उनले जरिवाना संकलनबाट राज्य सञ्चालन गर्ने उद्देश्य ट्राफिक प्रहरी वा सरकारको नभएको उल्लेख गर्दै सडक सुरक्षालाई केन्द्रमा राखेर मात्रै कारबाही गरिने बताए।
एसएसपी काफ्लेले नेपालमा सडक दुर्घटनाको अवस्था अझै चिन्ताजनक रहेको उल्लेख गर्दै देशभर दैनिक औसत सातदेखि आठ जनाले सडक दुर्घटनामा ज्यान गुमाउने र करिब २० जना गम्भीर घाइते हुने तथ्यांक रहेको जानकारी दिए।
उनले सडक दुर्घटनाबाट हुने मानवीय क्षति घटाउनु नै सरकार र ट्राफिक प्रहरीको मुख्य दायित्व भएको बताउँदै त्यसका लागि व्यावसायिक क्षमता अभिवृद्धिसँगै आधुनिक प्रविधिको प्रयोगलाई तीव्र बनाइएको जानकारी दिए।
"सडक प्रयोग गर्दा कुनै पनि नागरिकले अनाहकमा ज्यान गुमाउन वा घाइते हुन नपरोस् भन्ने हाम्रो मुख्य उद्देश्य हो। त्यसका लागि ट्राफिक प्रहरी चौबीसै घण्टा खटिरहेको छ," उनले भने।
ट्राफिक प्रहरीले लुकेर कारबाही गर्ने भन्ने विगतको आलोचनालाई प्रविधिले अन्त्य गर्ने विश्वास व्यक्त गर्दै एसएसपी काफ्लेले सीसीटिभीबाट प्राप्त भिडियो प्रमाणकै आधारमा कारबाही गरिने बताए।
"उहाँहरूले गरेको गल्तीको भिडियो प्रमाण हामीसँग हुन्छ। त्यसले ट्राफिक प्रहरी र नागरिकबीच हुने विवाद पनि घटाउँछ र कारबाहीलाई थप पारदर्शी तथा विश्वसनीय बनाउँछ," उनले भने।
ट्राफिक प्रहरीले आगामी दिनमा पनि काठमाडौं उपत्यकाभर सीसीटिभी निगरानी विस्तार गर्दै ‘फेसलेस ट्राफिकिङ’ प्रणालीलाई अझ प्रभावकारी बनाउने तयारी गरेको जनाएको छ।
प्रकाशित: २३ असार २०८३ १६:०७ मंगलबार



-600x400.jpg)

