काठमाडौंको धोबीखोलामा बिहीबार बिहान एक युवक मृत अवस्थामा फेला परेका छन्।
मदन भण्डारी कलेज नजिकैको खोलामा साइकलसहित ती युवकको शव भेटिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अन्दाजी २५ वर्षीय ती युवकको पहिचान खुल्न सकेको छैन। मृतकको शवसँगै एउटा साइकल पनि खोलामा लडेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले घटनाको पुष्टि गर्दै पहिचानको प्रयास भइरहेको जानकारी दिए।
‘खोलामा साइकलसहित शव फेला परेको छ। शवलाई बाहिर निकालेर मृतकको साथमा रहेका कागजातका आधारमा पहिचान खुलाउने प्रयास गरिरहेका छौँ,’ एसपी भट्टराईले भने।
प्रकाशित: १८ मंसिर २०८२ ०८:४२ बिहीबार




