सुर्खेतको लेकबेंसी नगरपालिका–१०, झुप्रामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार भदौ २७ गते बिहान लेकवेशीबाट भुतचोकतर्फ आउँदै गरेको भे ६ प ४७३ नम्बरको मोटरसाइकलले पैदलयात्री वीरेन्द्रनगर नगरपालिका–१०, बरीपाटी निवासी ५५ वर्षीया आशा बुढालाई ठक्कर दिएको थियो।
मोटरसाइकल १७ वर्षीय मनोज आचार्यले चलाएका थिए। दुर्घटनामा गम्भीर घाइते बुढाको शरीरमा बाहिरी चोट नदेखिए पनि भित्री चोट लागेको र अवस्था अचेत रहेको प्रहरीले जनाएको छ।
दुर्घटनापछि बुढालाई उपचारका लागि सुरुमा माया नर्सिङ होम अस्पताल लगिएको थियो। त्यसपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल, कालागाउँ, सुर्खेत पठाइएको थियो। त्यहाँबाट थप उपचारका लागि नेपालगञ्जस्थित नसिंह होम रिफर गरिएको थियो।
बुढाको भदौ २८ गते बिहान ७ः२० बजे नरसिंह होम नेपालगञ्जमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
घाइते बुढाको उपचारमा उनका छोरा राजन बुढा संलग्न थिए। दुर्घटनामा संलग्न मोटरसाइकल इलाका प्रहरी कार्यालय लेकवेशी, सुर्खेतको नियन्त्रणमा रहेको छ भने चालक आचार्य जिल्ला प्रहरी कार्यालय सुर्खेतको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
प्रकाशित: २८ भाद्र २०८३ ०७:४१ आइतबार





