२३ आश्विन २०८२ बिहीबार
image/svg+xml १२:५५ अपराह्न
समाज

ट्राफिक कारबाहीबाट सवा १६ करोड राजस्व

गत वर्ष प्रदेश प्रहरी कार्यालय विराटनगर मातहतका ट्राफिक प्रहरीले ६ लाख १६ हजारभन्दा बढी सर्वसाधारणलाई ट्राफिक नियमसम्बन्धी जानकारी प्राप्त गरेका छन्। सवारी दुर्घटना न्यूनीकरण गर्दै सुरक्षित यात्रा गर्न गराउन प्रदेश प्रहरी मातहतका १४ वटै जिल्लामा आर्थिक वर्ष ०८१/८२ मा सञ्चालित ट्राफिक सचेतना अभियानबाट उनीहरू लाभान्वित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।  

प्रदेश प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार गत वर्ष ट्राफिक नियम उल्लंघन गरेको आरोपमा २ लाख १३ हजार ६ सय ९५ सवारी साधन कारबाहीमा परेका छन्। जसबाट १६ करोड २९ लाख ७१ हजार ५ सय ५१ रुपैयाँ राजस्व संकलन भएको तथ्यांकमा उल्लेख छ।  

प्रदेश प्रहरीले १४ वटै जिल्लामा ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी तथा प्रत्यक्ष मातहतमा रही कार्य सञ्चालन गर्ने १४ वटा जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय सहित ६ वटा ट्राफिक प्रहरी इकाईहरूबाट दैनिक रूपमा ट्राफिक व्यवस्थापकीय कार्यहरू सम्पादन गरिँदै आएको छ। 

ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटनाबाट हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वय र सहकार्यमा ट्राफिक प्रहरीले सचेतना कार्यक्रम चलाएको हो। जस अनुसार ०८१/८२ मा प्रदेशका विभिन्न जिल्ला र स्थानमा २६ हजार २ सय ९३ पटक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो। जसबाट ६ लाख १६ हजार बढी सवारी चालक, सडक प्रयोगकर्ता र विद्यार्थी लाभान्वित भएको अभिलेख प्रदेश प्रहरीसँग छ।  

ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि प्रदेशका मुख्य तथा सहायक मार्गका ९ सय ३२ स्थानमा क्लोज सर्किट क्यामेरा सिसी टिभी जडान गरिएको छ। त्यस्तै झापाको झिलझिले, विराटनगरको दूधफार्म र विराटनगरकै खार्जीमा नम्बर प्लेट डिटेक्टर (एएनपीआर) सहितको सिसी क्यामेरा जडान गरिएको छ।  

लामो दूरीका सवारी साधन तथा भारतीय नम्बर प्लेटको सवारी जाँचका लागि ६ ठाउँमा ट्राफिक कम्युनिकेसन एपसहितको चेकजाँच, सार्वजनिक सवारी साधनको गति नियन्त्रण गर्न २१ ठाउँमा टाइम कार्ड इन्ट्री, ट्राफिक जरिवानालाई पारदर्शी बनाउन टीभीआरएस र ई-चलान प्रविधि लागू गरिएको छ। त्यसैगरी लागू पदार्थ तथा मादक पदार्थ सेवनबाट हुने दुर्घटना न्यूनीकरण गर्न कडाइका साथ लागू पदार्थ सेवन र मादक पदार्थ सेवनको चेकजाँच तथा तीव्र गतिबाट हुने दुर्घटना न्यूनीकरण गर्न राडार गनसहितको चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ।  

सवारी नियम उल्लंघन गर्ने सवारीलाई कारबाही तथा दुर्घटना न्यूनीकरण गर्न दैनिक २ सय ३९ भन्दा बढी ठाउँमा संयुक्त तथा एकल रूपमा चेकजाँच गरिँदै आएको छ। हेर्दा सामान्य लाग्ने तर त्यही सामान्य लापरबाहीले हुन जाने दुर्घटनाबाट ठुलो जनधनको क्षति हुने गरेको छ। तीव्र गतिमा सवारी चलाउनु, सवारी चलाइरहेको बेला मोबाइल फोन प्रयोग गर्नु, सिट क्षमताभन्दा बढी यात्रु राखी सवारी चलाउनुले दुर्घटना हुने गरेको छ।  

त्यसैगरी भारवहन क्षमताभन्दा बढी सामान ढुवानी गर्नु, हेलमेटको फित्ता नबाँध्नु, सिट बेल्ट नलाउनु, मादक पदार्थ तथा लागू पदार्थ प्रयोग गरेर सवारी साधन चलाउनु, थकित अवस्थामा सवारी चलाउनु, यान्त्रिक अवस्था ठिक नभएको सवारी चलाउनु, सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्राप्त नगरी सवारी चलाउनु, सडक प्रयोगकर्ताले जथाभावी बाटो काट्नु आदि लापरबाहीले नै दुर्घटना हुने गरेको प्रहरी निष्कर्ष छ।  

हालसम्मको तथ्यांकले सवारी दुर्घटनामा चालकको लापरबाही नै मुख्य कारण रहेको निष्कर्ष निकाल्दै प्रदेश प्रहरीले लापरबाहीपूर्वक सवारी चलाउन र सडक प्रयोग गर्न कडाइ गरेको छ। तैपनि आर्थिक वर्ष ०८१/८२ मा प्रदेशभर ४ सय १८ जनाको ज्यान गएको छ। ७ सय ११ जना गम्भीर र ८ हजार ५ सय ३० जना सामान्य घाइते भएको प्रदेश प्रहरी कार्यालयको अभिलेखमा उल्लेख छ।  

ट्राफिक नियम आफ्नै लागि हो, त्यसैले ट्राफिक नियमको पालना गर्दा सवारी चालक, सडक प्रयोगकर्ता, यात्रु सबै सुरक्षित हुन्छन् र सबैको सुरक्षित यात्राका लागि नै ट्राफिक प्रहरी सडकमा परिचालित गरिएको हो भन्ने भावनाको विकास गराउन ट्राफिक सचेतना कार्यक्रम चलाइएको हो। त्यसका लागि ‘जिम्मेवार चालक, जिम्मेवार यात्रु, सुरक्षित सडक र सवारी, सबैको जिम्मेवारी’ भन्ने नारा तय गरेको छ।  

प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआइजी) ईश्वर कार्कीले दुर्घटना न्यूनीकरण गर्नकै लागि नियमित रूपमा प्रदेशभरि ट्राफिक प्रहरी परिचालित गरेर सवारी चेकजाँच तथा नियमन गर्ने अभियान चलाइएको बताए। उनका अनुसार निरन्तर रूपमा चालक, सहचालक, सडक प्रयोगकर्ता, विद्यार्थी, अभिभावक लगायत सबै सरोकारवालाहरूसँग ट्राफिक नियमबारे प्रशिक्षण दिने काम समेत गरिएको डिआइजी कार्कीले बताए। यति गर्दागर्दै पनि लापरबाहीपूर्वक सवारी चलाउने २ लाख १३ हजार ६ सय ९५ वटा सवारी साधन कारबाहीमा परेको डिआइजी कार्कीले बताए।  

सचेतना अभियान चलाउँदा ‘अनमोल जीवन सुरक्षित बनाऔँ, ट्राफिक नियमको पालना गरौँ, सुरक्षित यात्राको लागि सबैले आ-आफ्नो जिम्मेवारी पूरा गरौँ!’ भन्ने नारा तय गरिएको छ।

प्रकाशित: १३ श्रावण २०८२ २०:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App