मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित यातायात व्यवस्था कार्यालय नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार बिहान करिब ६:१५ बजे उक्त स्थानमा एक पुरुष मृत अवस्थामा फेला परेको सूचना प्राप्त भएपछि प्रहरी निरीक्षक उमाशंकर प्रसादको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार घटनास्थल वरपर रगत देखिएकाले घटनालाई शंकास्पद मान्दै थप अनुसन्धान अघि बढाइएको छ।
अनुसन्धानका क्रममा मृतकको पहिचान मकवानपुरको साविक चित्लाङ गाविस–६, हाल थाहा नगरपालिका–१० स्थायी ठेगाना भएका ४१ वर्षीय आश्मान गोपालेका रूपमा भएको प्रहरीले जनाएको छ। उनी रामबहादुर गोपालेका छोरा हुन्। घटनाबारे मृतकका परिवारलाई जानकारी गराइसकिएको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धानका लागि बिहान ८:३० बजे बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट ट्रयाकर कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ।
प्रकाशित: १० श्रावण २०८३ १२:१० आइतबार





